19th October | 2018 | Friday | 11:33:03 AM

पुष्प—निराजन उत्कृष्ट र रुचाइएका मोडल

हिमालय टाइम्स   POSTED ON : Tuesday, 12 June, 2018 (6:11:19 PM)

पुष्प—निराजन उत्कृष्ट र रुचाइएका मोडल

बनेपा । नेपाली गीत संगीतका क्षेत्रमा गत वर्ष बजारमा आएका म्युजिक भिडियोलाई आधार मान्दा पुष्प खड्का उत्कृष्ट मोडल बनेका छन् । यस्तै, अर्का मोडल निराजन प्रधान सर्वाधिक रुचाइएका र रोजिएका (पब्लिक च्वाइस) मोडल बन्न सफल भएका छन् । साथै, अन्य थुप्रै मोडल, तथा गायक गायिका र सर्जकले चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ पाएका छन् । 

अवार्डमा लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, संगीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । ‘नेपाली गीत संगीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा भएको यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको थियो ।

यस्तै, उक्त समारोहमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, राम अविरल थापालाई रंग पत्रकारिता सम्मान तथा पुरस्कार शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार, मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान अनि हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिएको थियो । शनिबार काभ्रेको बनेपामा भएको एक भव्य कार्यक्रमबीच अवार्ड समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँद्वारा सम्मान गरिएको छ । राम अविरल थापा र शिवराज भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँद्वारा र सम्मान गरिएको थियो ।

यस्तै, राष्ट्रिय गीतमा ‘हाम्रो नेपाल राम्रो नेपाल’ बोलको गीत उत्कृष्ट भयो । पपतर्फ गायक डेभिड शंकर, गायिका केन्जुमा सुब्बा उत्कृष्ट बने । पुरुष मोडलतर्फ पुष्प उत्कृष्ट बन्दा महिलातर्फ आरुशी मगर उत्कृष्ट बनिन् । यस्तै, आधुनिकतर्फको विधामा गायक शिव परियार, गायिका सरु गौतम उत्कृष्ट बने ।

यस्तै, नवगायिका सारिका घिमिरेले पनि अवार्ड पाउन सफल भइन् भने इन्करेज्मेन्ट अवार्ड सिमान्त सन्तोशले पाए । यस्तै,पुरुषतर्फको पब्लिक च्वाइस् निराजन प्रधानले पाउँदा महिलातर्फ सगुन साहीले पाइन् । जुरी अवार्ड बिरेन्द्र भाट विपिन र किरण नेपालीले पाए । साथै , लोकदोहोरी विधातर्फ गायक रामजी खाँड र गायिका सम्झना लामिछानेमगर उत्कृष्ट बने ।


Views: 7