23rd July | 2018 | Monday | 6:18:20 AM

६ स्रष्टा पुरस्कृत

  POSTED ON : Sunday, 08 July, 2018 (5:04:35 PM)

६ स्रष्टा पुरस्कृत

हिमालय टाइम्स

काठमाडौं । ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बाट ६ जना स्रष्टा पुरस्कृत भएका छन् । नेपाली संगीत, लोक नृत्य, लोकनाट्य, गायन, तथा लोकगायन क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान पु¥याएका स्रष्टाहरूलाई पुरस्कृत गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ जना स्रष्टालाई शुक्रबार आफ्नै कार्यालयमा २०७४ सालको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेका हुन् । स्रष्टाहरूलाई जनही एक लाख एक रुपैयाँ र ताम्रपत्रद्वारा पुरस्कृत गरियो ।

कार्यक्रममा आधुनिक गीततर्फको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशकभन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो । शास्त्रीय संगीतर्फको पुरस्कार अग्रज वाद्यवादक एवं शास्त्रीय संगीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो । यस्तै ६ दशकदेखि लोकसंगीतमा सक्रिय गायक एवं रचना संकलक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई लोक संगीततर्पmको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।

यसैगरी सोही कार्यक्रममा ६ दशकदेखि क्रियाशील अग्रज अभिनेत्री एवं नृत्य कलाकार सुभद्रा अधिकारीलाई नृत्यसम्बन्धी नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो । ६ दशकभन्दा लामो समयदेखि मल्लकालीन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्राडा. रामावतार यादवलाई नाट्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरियो । उनी विदेशमा भएकाले छोरा डा. विजय यादवले पुरस्कार ग्रहण गरे । 

यस्तै नाट्यतर्फ नै पाँच दशक लामो समयदेखि क्रियाशील नाट्यकर्मी मदनदास श्रेष्ठलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो । उपराष्ट्रपति पुनले सो कार्यक्रममा पाँच दशकदेखि संगीत, नाट्य, अभिनय, नृत्य, गायन, गीत लेखन, वाद्यवादन क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तर्फबाट स्रष्टा परिचयपत्र प्रदान गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रिपति पुनले नेपाली मौलिक लोकसंगीत, लोकनृत्य, लोकनाच, नाटकको संरक्षण गर्नसकेमात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले प्रतिष्ठानलाई दक्ष र सबल बनाउन सरकारको ध्यानाकर्षण गराउने बताए । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले नेपाली संगीत, नृत्य, नाट्य क्षेत्रमा आजीवन अतुलनीय योगदान पु¥याएका कारण प्रतिष्ठानले चार वर्षदेखि राष्ट्रिय प्रज्ञा पुरस्कारले त्यस्ता स्रष्टालाई सम्मान गर्र्दै आएको बताए । 

कुलपतिले संघीय गणतन्त्रसँगै मुलुक प्रादेशिक संरचनामा गएको बेला प्रज्ञा प्रतिष्ठानहरूलाई खुम्च्याउँदै नेपाल, मौलिक लोकगीत, संगीत, नाच, नाटक, कलालाई साहित्यमा गाभ्दै यो क्षेत्रलाई धरासयी बनाउन प्रतिष्ठान गाभ्ने नाउँमा चलखेल गरिरहेको बताए । 

यस्तै सो प्रतिष्ठानको उपकुलपति शम्भुजित बास्कोटाले पुरस्कृत कलाकारलाई राष्ट्रको गौरवसँग जोड्ने विश्वास व्यक्त गरे । राष्ट्रियस्तरको यो पुरस्कार अग्रज स्रष्टाहरूको योगदानको कदरसँगै अझ प्रोत्साहन मिल्ने विश्वास प्रतिष्ठानले लिएको बताए ।