17th July | 2018 | Tuesday | 1:13:09 PM

फुर्सँदिला बने निखिल

गोपिकृष्ण चापागाईं   POSTED ON : Thursday, 12 July, 2018 (3:42:09 PM)

फुर्सँदिला बने निखिल

काठमाडौं । एक्शन अभिनेता निखिल उप्रेती लामोसमय देशबाहिर बसेर पुनः नेपाली चलचित्र क्षेत्रमा फर्केका थिए । लामोसमय एक्शन चलचित्र हेर्न नपाएका नेपाली दर्शकले निखिलको आगमनपश्चात् पुनः एक्शन चलचित्र हेर्न पाए । कुनै समय निखिलको पोष्टर टाँसेकै आधारमा दर्शक हलसम्म आउने गर्थे तर अहिले त्यो समय रहेन । अहिले चलचित्रको कथा, मेकिङदेखि कलाकारलाई हेरेर दर्शक हलसम्म पुग्ने गर्छन् । त्यसैले निखिलको दशक अगाडिको क्रेज र अहिलेको क्रेजमा धेरै फरकपना आइसकेको छ ।

निखिलले पछिल्लोसमय अभिनय गरेका केही चलचित्रमा दर्शकको संख्या राम्रै देखिन्थ्यो भने केही चलचित्र फ्ल्पको लिस्टमा समेत बसे । निखिलले पछिल्लो दुई वर्षयता ‘भैरब’ ‘पिञ्जडा ब्याक अगेन’, ‘राधे’, ‘रुद्र’, ‘संरक्षण’, ‘किंग’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । एक्शन चलचित्रमा दर्शकको क्रेज बढ्ने देखिएपछि निर्माता तथा निर्देशकले निखिललाई एकपछि अर्को चलचित्रमा अनुबन्धित गरे तर अहिले निखिललाई चलचित्रमा लिनका लागि निर्माता तथा निर्देशकले धेरैपटक सोच्ने गरेका छन् किन कि युवास्टारका अगाडि उनको क्रेज घट्दै गएको छ । 

केहिदिन अघि अभिनेता निखिल सामाखुसीस्थित एक नेवारी रेष्टुरेण्ट उद्घाटनमा भेटिए । फुर्सद भएकाले समय समयदेखि यस्तै कार्यक्रममा हिड्ने गरेको छु भन्ने उनको भनाइ थियो । उनले आफूलाई नेवारी खाना निकै मनपर्ने र रेष्टुरेष्ट सञ्चालकसँग लामो समयदेखिको चिनजानका कारण पनि रेष्टुरेष्ट उद्घाटनमा आएको बताए । ‘म कुनै कार्यक्रममा जानुप¥यो भने बिजी छु भनेर घरमै बस्दिनँ, कतिपय कलाकारले त्यस्तो पनि गरेको पाइन्छ,’ उनले हिमालय टाइम्ससँग कुराकानी गर्दै भने । 

अहिले आफू फुर्सदमा रहेको निखिलको भनाइ थियो । उनले अहिले कुनैपनि चलचित्रमा काम नगरेको र केही चलचित्रको स्क्रिप्ट अध्ययनमा रहेकाले फुर्सदमा भएको बताए । उनी फुर्सदको समय घरमै बिताउने गरेको बताउँछन् । ‘अहिले म फुर्सदमा छु, कुनैपनि चलचित्रमा व्यस्त छैन, केही चलचित्रको स्क्रिप्ट हेर्दै छु’, निखिलले भने । निखिलले केही समयअघि बलिउडका कलाकारलाई लिएर ‘कमिटमेन्ट’ नामक चलचित्र निर्माणको घोषणा गरेका थिए । सुटिङ पनि सुरु भएको थियो तर विविध कारणले अहिले सुटिङ रोकिएको छ, चलचित्र आउने या नआउने टुंगो छैन ।