18th October | 2018 | Thursday | 1:30:00 PM

आजबाट वास्तविक कथाको बोबी

हिमालय टाइम्स   POSTED ON : Friday, 13 July, 2018 (2:53:13 PM)

आजबाट वास्तविक कथाको बोबी

काठमाडौं । आजबाट रियल कथामा निर्माण भएको नयाँ चलचित्र ‘बोबी’ प्रदर्शनमा आएको छ । उमेश थापा र कविता गुरुङको जीवनमा आइपरेका दुःख र सुखका सबै कुरालाई निर्देशक मिलन चाम्सले यो चलचित्रमा समावेश गरेका छन् । चलचित्र उमेश र कविता दुवैले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

यसैबीच यो चलचित्रको बुधबार प्रिमियर गरिएको छ । राधानीको कुमारी हलमा सम्पन्न प्रिमियरमा केही चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो । वास्तविक कथामा निर्माण भएकाले चलचित्रलाई धेरैले मन पराए, त्यसमाथि पनि कथाका वास्तविक पात्रले अभिनय गर्दा उनीहरूको तारिफ निकै गरिएको थियो । 

चलचित्रका कलाकारहरू विजय लामा, रुवि राणा शाह, देशभक्त खनालसहित गायक राजेशपायल राई, अभिनेता रमेश उप्रेती, ‘भद्रगोल’ का सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठलगायत सयौं चलचित्रकर्मीको प्रिमियरमा बाक्लो उपस्थिति थियो । 

चलचित्रकी मुख्य कलाकार कविताले आफ्नै चलचित्र हेर्न सकिनन् उनी प्रिमियरमा केहीबेर बसेर निस्किएकी थिइन् भने उमेशले चलचित्र हेरिसकेपछि गहभरी आँशु निकाल्दै भक्कानिएका थिए । आफ्नै कथा पर्दामा आउँदा र सबैले हेर्दा उनको आँखामा आँशु आएका थिए । 

चलचित्र हेर्ने अन्यको पनि आँखा रसाएका थिए । सबैले मिडियासमक्ष ‘बोबी’ प्रेरणादायक चलचित्र बनेको प्रतिक्रिया दिए । उमेशले सञ्चारकर्मीसँग कुरा गर्दै पुराना यादहरूलाई सम्झिएको बताए । ‘बुबाआमालाई देखेर रोएँ । फेरि डल्लुले पाएको दुःख देखेर रोएँ । मैले आफूलाई सम्हाल्न सकेको थिइनँ’, उमेशले भने ।

आजभन्दा २० वर्षअगाडि परिवारको सहमतिविना अन्तरजातीय विवाह गरेको यो जोडीले धेरै संघर्ष गर्नुपरेको थियो, हाल नर्बेमा सुखी जीवन विताइरहेको उमेश र कविताको एक छोरा छन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा सञ्चारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र वसन्त सापकोटा र ताराप्रकाश लिम्बूको संगीत छ ।


Views: 2