17th October | 2018 | Wednesday | 10:48:33 PM

चन्द्रागिरिमा फिल्म प्रसार

हिमालय टाइम्स   POSTED ON : Monday, 16 July, 2018 (2:51:56 PM)

चन्द्रागिरिमा फिल्म प्रसार

काठमाडौं । राजधानीबाट नजिकै रहेको पर्यटकीयस्थल चन्द्रागिरि हिल्स् फिल्म प्रचारको गन्तव्य बनेको छ । 

शनिबार साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ टिमले चन्द्रागिरि पुगेर चलचित्रको प्रचार गरेको छ । चलचित्रका नायक विनय श्रेष्ठ (रोमियो) र नायिका सृष्टि श्रेष्ठ (मुना) सँगै निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीसहितको टोली चलचित्रको प्रचार गर्न त्यहाँ पुगेको थियो । 

उनीहरूलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले स्वागत गरेका थिए । मेयर गिरिले चन्द्रागिरि नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्नसक्ने बताए । उनले चाँडै नै चन्द्रागिरिमा फिल्म हल बनाइनेसमेत आश्वसन दिए । ‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर केहीबेर पत्रकारसँग कुरा गर्दै चलचित्रका विषयमा जानकारी गराइयो । विनय र सृष्टिले आफ्ना लागि ‘रोमियो एण्ड मुना’ विशेष रहेको बताए । 

‘डाइङ क्यान्डल’ बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहिनेत गरेर बनाएको बताए । पहिलोपटक फिल्म बनाएका निर्माता गोपालीले चलचित्रले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे । 

प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तीव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । ‘हामी राजधानीबाहिर गएर पनि चलचित्रको प्रोमोशन गर्छौं,’ निर्माता गोपालीले भने । चलचित्रमा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्ज्वल सुजल गिरिको अभिनय छ । चलचित्र प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयुक्तरूपमा निर्माण गरेका छन् ।


Views: 5