18th October | 2018 | Thursday | 12:21:46 PM

भैरेलाई दर्शकको साथ

हिमालय टाइम्स   POSTED ON : Sunday, 22 July, 2018 (7:09:27 PM)

भैरेलाई दर्शकको साथ

काठमाडौं । गत दुई सातायता नेपाली चलचित्रले दर्शक पाउन सकेनन् । गत साता चार चलचित्र एकसाथ प्रदर्शनमा आएका थिए । तर सबै चलचित्रले दर्शकको सन्तोषजनक साथ पाउन सकेकन् । यस्तै यही साता (शुक्रबार)बाट प्रदर्शनमा आएका तीन चलचित्र मध्ये ‘भैरे’ले दर्शकको राम्रो साथ पाएको छ । दोस्रो दिन शनिबार देशभरका सिंगल थिएटरहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भैरेले दोस्रो दिनसम्म दर्शकको साथ पाएको छ । सँगै प्रदर्शनमा आएका अन्य दुई चलचित्रभन्दा भैरेमा दर्शकको संख्या बढी देखिन्छ । शुक्रबारभन्दा शनिबार चलचित्रले दर्शक धेरै कमाएको छ । राजधानीका सिंगल थिएटरहरू गोपिकृष्ण, अष्टनारायण, गुणजस्ता ठूला हलमा दर्शकको चापबढी देखिन्थ्यो । 

शनिबार राजधानीका सिंगल थिएटर अधिकांश हाउसफुल रहे । चलचित्रले मल्टिप्लेक्समा शो भने थोरै पाएको छ तर जतिपाएको छ ती मध्ये अधिकांश हाउसफुल थिए । काठमाडौं बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको चाप बढेको चलचित्र युनिटले जनाएको छ । 

चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराले चलचित्रमा गरेको दुःखअनुसार दर्शकले साथ दिएकोमा खुशी लागेको बताए । ‘बिहानदेखि अधिकांश हल हाउफुल छन्, निकै खुशी लागेको छ । दर्शकबाट चलचित्रबारे राम्रो प्रतिक्रिया आएको छ’, बोहराले भने । यस्तै चावहिलस्थित गोपिकृष्ण हलमा निर्देशक बोहरासँगै बुद्धि तामाङ, वर्षा सिवाकोटी, जान्वी बोहरा, विक्रान्त बस्नेत, बाल कलाकार अनुभव रेग्मीको टिम पुगेको थियो । सञ्चारकर्मीसँग बोल्दै कलाकार बुद्धिले भैरेलाई दर्शकले मन पराएको र आफ्नो भूमिकाबाट निकै इन्जोय गरेको बताए ।

यस्तै नायिका वर्षा सिवाकोटीले पनि चलचित्रमा गरेको मिहिनेतको प्रतिफल मिठो आउँदा खुशी लागेको बताइन् । ‘हामीले गरेको मिहिनेतको फल आज राम्रो आउँदा खुशी लागेको छ, धेरै दर्शकले चलचित्रलाई राम्रो भन्दै बाहिर निस्किनुभएको छ’, वर्षाले भनिन् । यस्तै अर्की नायिका जान्वीले पनि चलचित्रमा आफ्नो सानो भूमिका भए पनि दर्शकले सम्झिने भूमिका भएको बताइन् । 

यस्तै उनको भूमिकालाई पनि दर्शकले व्यक्तिगत रूपमै प्रतिक्रिया दिइरहेका थिए । ‘मैले यो चलचित्रमा धेरै लामो भूमिका त निभाएकी छैन, तर जति छ त्यो दर्शकले रुचाइदिनुभएको छ, खुशी छु’, जान्वीले भनिन् । यस्तै बाल कलाकार अनुभवले पनि यो चलचित्रको भूमिकाबाट बढी दर्शकले चिन्ने बताए । अर्का कलाकार विक्रान्तले धेरैपछि चलचित्रमा फर्किँदा धेरै दर्शकको माया पाएको बताए । हलमा चलचित्रका दुई कलाकार दयाहाङ राई र सुरक्षा पन्त पुगेका थिएनन् ।

चलचित्रका प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता हुन् । चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सहनिर्मातामा छन् । पुरुषोत्तम प्रधान चलचित्रका छायांकार हुन् । नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् । 

चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङलगायत कलाकारहरूको अभिनय छ । चलचित्रमा द्वन्द्व सूर्य थोक्करको छ ।

 


Views: 5