17th December | 2018 | Monday | 6:17:31 PM

मिडियासँग किन भाग्छन् पुस्कल ?

  POSTED ON : Tuesday, 07 August, 2018 (8:12:05 PM)

मिडियासँग किन भाग्छन् पुस्कल ?

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतका चर्चित गायकको नाम लिँदा पुस्कल शर्मा उत्कृष्ट पाँचभित्र पर्छन् । उनले गाएका धेरैजसो गीत हिट छन् । प्रायः हसाउने र नचाउने भन्दा रुवाउने गीत गाउने पुस्कलको सबैभन्दा हिट गीतमा ‘मुटु जलाई जलाई’ र ‘आउँछ्यौं आउँदिनौं’ पर्छन् । यी बाहेक उनका ‘मुटु जल्छ मेरो, हितको परानी, फाट्यो रुमाल धुँदा’ पनि दर्शकले मन पराएका गीत हुन् । 

चट्ट जिउ मिलेका, कपाल र दाह्री पालेका पुस्कल आफ्नो भिडियोमा आफँै अभिनय गर्छन् । उनी पछिल्लो समय फाट्फुट्ट अरूको गीतमा पनि अभिनय गर्छन् । उनै पुस्कलले आजभन्दा दुई वर्षअघि एक गीत बजारमा ल्याए त्यो हो, ‘मुटु जलाई जलाई भाग ३’ । आफ्नो ‘मुटु जलाई जलाई’ गीत दर्शकले अत्यधिक मन पराएकै कारण भाग २ सम्म बजारमा ल्याइसकेका थिए पछि भाग ३ पनि सार्वजनिक गरे । भाग २ सम्मको उनको गीत सकारात्मक तरिकाले हिट थियो तर भाग ३ बजारमा सार्वजनिक भइसकेपछि निकै भाइरल हुन पुग्यो, त्यसको कारण थियो गीतको भिडियो । उनले उक्त गीतमा आफू मरेका कुरा राखेका थिए । भिडियोको मेकिङमा चर्चित गायिका कोमल ओलीले पुस्कल शर्माको मृत्यु भएको छ भन्दै समाचार वाचन गरिरहेको र अन्य चर्चित कलाकारले पुस्कललाई श्रद्धाञ्जलि दिएको बनाइयो । त्यसले गर्दा धेरै दर्शक नराम्रोसँग झुक्किए अर्थात् पुस्कलको साँच्चै नै मृत्य भयो भन्ने ठाने । गीत सार्वजनिक भएको अर्को दिनसम्म सामाजिक सञ्जालमा पुस्कललाई श्रद्धाञ्जलि दिने फ्यान प्रसस्तै थिए । भिडियोमा लोकगीत भनेर लेखिएको थियो तर दर्शककले त्यो सानो अक्षरको भने हेक्का राखेनन् ।


मिडियासँग भाग्छन् पुस्कल

पुस्कलको ‘मुटु जलाई जलाई भाग ३’ बजारमा आएपछि अधिकांश मिडियाले पुस्कलको भिडियो मेकिङलाई राम्रो ठानेनन् । अन्य दर्शक तथा कलाकारले पनि पुस्कल हिट हुनका लागि यस्तो गीत बनाए भन्न थाले त्यसपछि पुस्कल त्यस्ता व्यक्ति तथा मिडियाप्रति रुष्ट भए । कसैले किन आफँै मरेको भिडियो बनाउनु भयो भन्ने प्रश्न गरेमा पुस्कलले एक गीतमा कुनै व्यक्तिको मुत्यु भएको देखाउँदा गलत कसरी हुन्छ भन्ने प्रतिप्रश्न गर्थे । अहिले पुस्कलले कुनैपनि मिडियालाई अन्तर्वाता दिन चाहिरहेका छैनन् । त्यो समयमा सबैले आफूविरुद्ध समाचार लेखेको भन्ने ठान्छन् । ‘त्यो समयमा मलाई कुनै मिडियाले सपोर्ट गरेनन् अहिले किन उनीहरूका लागि मैले अन्तर्वाता दिऊँ’ पुस्कलले हामीसँगको छोटो भेटमा भने । उनले आफूलाई मिडियाबाट कुनैपनि साथ नमिलेको बताउँछन् । ‘मलाई चाहिँदा कसैले सहयोग गरेनन्, अहिले अनलाइन मिडिया, टेलिभिजनले आफूले पैसा कमाउनका लागि मेरो अन्तर्वार्ता लिन खोज्दा म किन दिऊ ?’ पुस्कलले हामीसँग प्रश्न गरे । ल ठिकै छ, कुनै मिडियाप्रति तपाईको दुखेसो होला, तर सबै त्यस्तो छैनन् नि, कुनै टेलिभिजन, छापा मिडिया, रेडियोलाई त समय दिन सक्नुहुन्छ होला नि ? हाम्रो यो प्रश्नमा उनी भन्छन्, ‘मैले विगत एक वर्षभन्दा बढी भयो कुनैपनि मिडियालाई समय नदिने निर्णय गरेको छु ।’ उनले विशेषगरी आफूलाई विभिन्न युट्युब च्यानलका लागि अन्तर्वार्ताका लागि धेरैले समय माग्ने गरेको बताउँछन् तर उनले आफ्नो अन्तर्वार्ता लिएर अरू कसैलाई पैसा कमाउन नदिने बताउँछन् । ‘विशेष गरी युट्युबका साथीले फोन गर्नुहुन्छ, त्यो त सिँधै मलाई प्रयोग गरेर उहाँहरूले पैसा कमाउने हो नि ¤, त्यसैले उहाँहरूका लागि अन्तर्वार्ता दिन्नँ । तपाई त छापा मिडियाबाट हुनुहुन्छ आउनूस् न एकदिन बसौं, तपाईलाई दिन्न भनेको होइन’ पुस्कलले हामीसँग भने ।

लोकदोहोरी गीतको क्षेत्रमा अन्यले लेखेको र संगीत भरेको गीत पुस्कलले निकै कम गाउँछन् । यदि गाइहाले भने पनि धेरै पारिश्रमिक लिएर गाउने गायकमा उनी पर्छन् । पुस्कलले अहिलेको तीजलाई लक्षित गरी केहीदिन अघिमात्रै ‘हिरो’ बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका छन् । जुन गीतको भिडियोमा आफैले अभिनय गरेका छन् । 

गोपिकृष्ण चापागाईं 

Views: 12

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)