14th December | 2018 | Friday | 2:02:19 AM

स्कुल–स्कुलमा मेरी मामु

हिमालय टाइम्स   POSTED ON : Wednesday, 08 August, 2018 (4:34:32 PM)

स्कुल–स्कुलमा मेरी मामु

काठमाडौं । निर्माता सन्तोष सेनले आफ्ना ७ वर्षीय छोरालाई अभिनय गराएर निर्माण गरेको चलचित्र ‘मेरी मामु’ टिम प्रचारप्रसारमा तीव्ररूपमा अगाडि बढेको छ । टिम यतिखेर प्रचारकै लागि मोफसलमा छ । आउँदो भदौ १५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्र टिमले प्रचारका लागि विद्यालय केन्द्रित भएको छ । 

चलचित्र बाल मनोविज्ञानमा आधारित रहेकाले मोफसलका स्कुलहरूमा प्रचार गर्दै हिँडेका छन् । टिमले पूर्वका विभिन्न विद्यालयमा प्रचार गरिसकेको जनाएको छ । विद्यालयका विद्यार्थीसँगै बसेर चलचित्रका मुख्य बालकलाकार आयुव सेनले प्रोजेक्टरबाटै आफू अभिनित चलचित्रको गीत देखाउँदै हिँडेका छन् ।

धरानका विद्यालयहरू के.के. इन्टरनेशनल, दीपेन्द्र प्रहरी स्कुल, पब्लिक हाइस्कुल, यु.एन कलेज र धरान इंग्लिस बोर्डिङ स्कुललगायत अन्य विद्यालयमा टोली पुगिसकेको चलचित्र टिमले जनाएको छ । टिम धरानपछि विर्तामोडका देवभूमि स्कुल, कन्काई हाइस्कुल, पूर्वाञ्चल हाइस्कुल, मनकामना कलेजलगायत अन्य कलेजमा पुगेका थिए । मंगलबार, बुधबार र बिहीबारसम्म पूर्वका दमक, इटहरी र विराटनगरका विद्यालयामा पुग्ने निर्माता सेनले जनाए ।

टिमले केही दिनअघिबाट ‘थाइल्याण्ड टुर’ प्रतियोगिता अगाडि सारेको छ । यो योजनाबाट धेरै विद्यार्थी आकर्षित भएका छन् । निर्माता सेनले यो भन्दा अघिका चलचित्र ‘प्रेमगीत’, ‘प्रेमगीत २’को प्रचारमा पनि निकै खर्चेका थिए । प्रसार कुन शैलीमा गर्दा चलचित्र राम्रोसँग चल्छ भन्ने उनले बुझेर अगाडि बढेका हुन्छन् । अहिले ‘मेरी मामु’का लागि १८ लाख खर्च भइसकेको बताएका छन् । 

चलचित्रमा यम थापाको लेखन तथा निर्देशन छ भने बालकलाकार आयुवसँगै कुसुम गुरुङ, सारुक ताम्राकार, अश्लेष ठकुरीलगायतको मुख्य भूमिका छ । 


Views: 10