21st October | 2018 | Sunday | 7:04:35 AM

गुनगुनमा चन्दाको आइटम डान्स

हिमालय टाइम्स   POSTED ON : Thursday, 09 August, 2018 (4:15:12 PM)

गुनगुनमा चन्दाको आइटम डान्स

काठमाडौं । चलचित्र प्रमोशनका लागि निर्माण टिमले चलचित्र प्रदर्शन अगाडि चलचित्रमा समावेश गीत सार्वजनिक गर्ने गर्छन् । दर्शकको मनमा बस्ने गीत बनाउन निर्माण टिम संगीतकारसम्म निकै धाउँछन् । अझ पछिल्लो समय चलचित्रमा लोकलयको गीत हुनैपर्ने भनेजसरी गीत बनाइरहेका हुन्छन् । कि लोकलयको गीत कि आइटम नृत्य, पछिल्लो समयका चलचित्रमा यी दुईमा एक भएकै हुन्छ । 

यस्तै, आउँदो कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गुनगुन’ मा पनि एक आइटम डान्ससहितको गीत राखिएको छ । प्रदर्शन हुनुभन्दा तीन महिनाअघि नै चलचित्र टिमले प्रमोशनका लागि गीत सार्वजनिक गरेको हो । ‘किस मिस’ बोलको गीतमा म्युजिक भिडियोमा हट मोडलका रूपमा चिनिएकी चन्दा दाहालले नृत्य गरेकी छन् । यसअघि चन्दाले नृत्य गरेका धेरै म्युजिक भिडियो टेलिभिजनले प्रसारण नगरेका उदाहरण छन् । 

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रमा नायिका सञ्चिता लुइँटेलको मुख्य भूमिका छ । चलचित्र पुकार भट्टराईले निर्देशन गरेका हुन् ।

प्राथना फिल्म्स्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सञ्चिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दीप राई, विपिन प्रसाईं र स्वयं निर्देशक भट्टराईको अभिनय रहेको छ ।


Views: 9