27th June | 2019 | Thursday | 4:12:02 AM

सुललित लोकभाकामा रस

विनोद दाहाल   POSTED ON : आश्विन १३, २०७५ (९:५३ AM)

सुललित लोकभाकामा रस

अञ्जु गौतम प्रसिद्ध लोकगायिका हुन् । २०४० सालमा तेह्रथुम फुलेकमा जन्मिएकी उनी पिता डिल्लीरमण गौतम र माता गंगादेवी गौतमकी एकमात्र छोरी हुन् । उनका दुई भाइ छन् । धर्म खड्कासँग पे्रम विवाह गरेकी अञ्जु हाल सुनसरीको इटहरीमा बस्तै आएकी छन् ।

कक्षा नौमा पढ्ने छोरीको पढाइका सन्दर्भमा हाल काठमाडौंको चावहिलमा अस्थायी रूपमा बस्तै आएकी अञ्जु यहाँ आफ्ना गीतको प्रबद्र्धनमा तल्लीन छन् । अञ्जुलाई सानैदेखि गीत गाउनमा रुचि थियो, उनी गायक बन्न चाहन्थिन् तर उनले उचित मौका पाइनन् । २५ वर्षको उमेरपछि २०६५ सालदेखि उनी गायनमा लागिन् । यसबीच उनको माइती विराटनगरमा बसाइँ सरिसकेको थियो । उनको गायनमा परिवारको राम्रो साथ प्राप्त भयो र उनी निसंकोच गायनमै रमाउन थालिन् । 

उनले भजन, लोकभजन, लोकगीत, चलचित्र गीतलगायतका गीत गाएकी छन् । ‘लोकगीत सरल हुन्छन्, यिनको भाव सहज र बोधगम्य हुन्छ अनि यसमा संस्कृतिको सहमिलन भएको हुन्छ, त्यसैले म लोकगीततिर बढी संलग्न छु,’ उनी भन्छिन् ।

आफूले गायनमा श्रीमान्बाट राम्रो समर्थन पाएको र विवाहपछि गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण र स्टेज कार्यक्रम गर्ने अवसर पाएको बताउँछिन् अञ्जु । अहिले वैदेशिक व्यवसायका क्रममा विदेशमा रहेका उनका श्रीमान् धर्म खड्का पनि सांगीतिक कार्यमा संलग्न भएर उनलाई प्रोत्साहित गरेकाले यसरी यसरी खुलेर गायनमा लाग्ने मौका पाएको बताउँछिन् । धर्म बाँसुरी पनि बजाउँछन् । उनकी छोरी नृत्य र अभिनय गर्छिन् । उनले दुई चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेकी छन् । 

अञ्जुले लोकगीतमा नेपालीपन भेटेकी छन् । सरलता, सरसता, सुललितता लोक गीतमै पाइने उनको बुझाइ छ । अञ्जुका पूर्वेली भाकाका गीत अहिले पूर्वी नेपालमा निकै चर्चित बनेका छन् । अब उनी आफ्ना गीत रेकर्डिङ गर्दा र म्युजिक भिडियो बनाउँदा पारिश्रमिक पनि पाउन थालेकी छन् । ‘मैले सयवटाभन्दा बढी गीत रेकर्डिङ गराइसकेकी छु र आफ्नाबाहेक अरूका एल्बममा गीत गाएकी छु,’ उनी भन्छिन् । गायनबाट अञ्जु अलिअलि कमाइ गर्छिन् तर यो कमाइबाट खान नपुग्ने उनको भनाइ छ । नेपालमा साहित्य, संगीत र कलाका माध्यमबाट कमाइ हुँदैनथ्यो । यो सोखका क्षेत्र थियो तर हाल केही मानिसले यो क्षेत्रबाट कमाइ गर्न थालेका छन् । यो क्षेत्र पनि व्यावसायिक बन्दै गएको छ । अञ्जु यसमा खुशी छन् । उनी आफू भने व्यावसायिक बन्न संघर्ष गरिरहेकी बताउँछिन् । ‘आत्मा सन्तुष्टिका लागि गाउँछु, नामका लागि गाउँछु’ उनी भन्छिन् । 

गायनबाट के पाउनुभयो भयो भन्ने प्रश्नमा अञ्जुले भनिन्, ‘गाएर नाम कमाएँ, श्रोता र दर्शक कमाएँ ।’ उनले अरू केही सम्मानका साथै एरिना अवार्ड प्राप्त गरेकी छिन् । यसले उनलाई लोकगीत गाउन अझै ऊर्जा थप भयो । 

उनी अभिनय आफ्नो विधा होइन भन्छिन् तर दुईवटा फिल्ममा उनले छोटाछोटा भूमिका गरेकी छन् । जसबाट उनले कुनै पारिश्रमिक पाइनन् । उनले अभिनयलाई आफ्नो विधा होइन भनेपनि उनको शारीरिक बनोट रूप तथा अभिनय कलाले गर्दा उनको क्षेत्र बन्नसक्ने सम्भावना देखिन्छ । 

उनी आफूले सकेसम्म र बाँचुञ्जेल गीत गाउने प्रतिबद्धता व्यक्त गर्छिन् । आपूmमात्र होइन आफ्नी छोरीलाई पनि यही क्षेत्रमा लगाउने उनले दृढ संकल्प गरेकी छन् । उनले दोहोरीजस्ता लाग्ने युगल गीत गाएकी छन् र केही लोकदोहोरी पनि गाएकी छन् तर स्थलगतरूपमै गाइने दोहोरी गाउन उनी असहज हुने बताउँछिन् । यस्ता सवाल जवाफमा हाजिरीजवाफी सामथ्र्य चाहिन्छ । यस्तो कौशल थोरै मानिसमा मात्र हुन्छ भन्ने उनको सोचाइ छ । तर, यिनै गीत हाम्रो शहरी समाजमा उपेक्षित बनिरहेकामा उनी चिन्ता व्यक्त गर्छिन् । 

उनलाई गीत गाउनका लागि धेरै प्रस्ताव आउँछन् तर उनी छानेरमात्र गाउँछिन्, सबैका सबै प्रस्तावलाई विश्वास गर्दिनन् । अर्कातिर उनी आफ्नै काममा पनि व्यस्त हुन्छिन् । आफूलाई गाऊँ गाऊँ लागेका र मन छोएका गीतमात्र गाउँछिन् उनी । जसमा पूर्वेली भाकाका र आफ्नै भेगका गीत पर्ने गरेका छन् । 

उनका पाँचवटा एल्बम सार्वजनिक भएका छन् । ती एल्बममा उनका शिरमा बस्ने फूल..., बाँसैको टाटी..., फूलको थुंगा..., विरह चल्ने न्याउली चरी..., अल्झियो मन..., आफ्नै रीति..., उज्यालो..., शिर फूल..., लक्ष्मीपूजा..., माइतीको आँगन..., यमपञ्चक..., शृंगार..., लगायतका धेरै गीत समावेस छन् । अञ्जुले माधवप्रसाद दाहाल, गान्धर्वराज पौडेल, यमुना नेपाल, मीना नेपाल, शम्भु कटुवाल, तिलक परियार, दुर्गा पराजुली, गोपाल निरौला, उमेश विरही, नगेन्द्र कटुवाल, गोविन्द कटुवाल, सोमराज राईजस्ता लोकगायक गायिकासँग सामूहिक र केही एकल गीत पनि गाएकी छन् । ‘आजको दिन किन हो बोल्दिनौ, मनको कुरा पटक्कै खोल्दिनौ’, ‘छेउ लाग्यो माछा छल्कैले छल्कैले कान्छा... म आएँ मायाको झल्कैले– एकसरे माया लाउँदै जाऊँ लौ लौ ... लगायतका उनका केही गीत निकै चर्चित छन् । ओखलढुंगा, सोलु, खोटाङ, भोजपुरलगायतका पूर्वी पहाडी जिल्लामा घाँस दाउरा जाँदा, मेला पर्वमा, बाटो पार गर्दा, गाई भैंसी चराउँदा गाइँने लोकगीतलाई घाँसे वा गोठाले गीत भन्ने गरिन्छ । यस्ता गीतलाई कतैकतै हाक्पारे गीत पनि भनिन्छ । लामा, मझौला र छोटा आयाममा संरचित यस्ता गीत त्यतातिर निकै लोकप्रिय छन् । आफ्नै माटाका सिर्जना र लोकजगतका उपज यस्ता गीत गायनमा अञ्जुको राम्ररी रस बसेको पाइन्छ । 

अञ्जुले माधवप्रसाद दाहालसँग मिलेर गाएको यस्तै एउटा गीत हो ‘छेउ लाग्यो माछा छल्कैले ... ।’ यो गीत निकै चर्चित छ र यसको छायांकन निकै ठूलो तामझामका साथ काठमाडांैको गोकर्णमा भएको थियो जसमा उनी आफैँले पनि अभिनय गरेकी छन् । 

उनले लोकगीतमा कर्म गीत, पर्व गीत, ऋतु गीतलगायतका नेपाली मौलिम लोकगीत गाएकी छन् । काम गर्दा गाइने गीत कर्म गीत हुन् भने चाडपर्वका समयमा गाइने गीतहरू पर्व गीत हुन् । दाईं गर्दा गाइँने गीत कर्मगीतको दृष्टान्त हो भने देउसी भैलो पर्व गीतका उदाहरण हुन् । ऋतु गीतमा वसन्त पञ्चमीमा गाइने र ऋतुअनुसार गाइने गीत पर्छन् । यस्ता गीत सदाबहार हुन्छन्, त्यसैले यी आफ्नो रोजाइमा परेका हुन् उनी भन्छिन् । उनी मौलिकता मन पराउँछिन् । पर्व विशेषमा गाइने गीतमा उनी अझै बढी रमाएकी छन् । गीतमा मात्र होइन लुवाइ खुवाइमा पनि उनलाई नेपाली मौलिकता मनपर्छ । उनी प्राय सारीचोलोमा भेटिन्छिन् । ठेट नेपाली भाकाबाट उनी आकर्षित हुन्छिन् । 

गायिका अञ्जुले नेपालमा गायनको भविष्य राम्रो देखेकी छन् । लोक गीतको भविष्य अझै उज्जवल छ उनी भन्छिन् । ‘मिहिनेत गर्दै जानुपर्छ, दर्शक र श्रोताको मन छुने र उनीहरूलाई मनपर्ने खालका गीत गाइनुपर्छ । यस्ता गीतले दर्शकलाई नचाउन सक्नुपर्छ । राम्ररी स्वर साधना गरेर समयअनुसारका गीत लिएर यो क्षेत्रमा आउनसक्यो भने लोकगीतको भविष्य एकदम उज्ज्वल छ’ उनी भन्छिन् । 

अञ्जुको विचारमा एकराते बजारमा मादल बजाउँदै गीत गाएर केटी फकाउनेहरू सबै कलाकारै हुन् भन्न सकिँदैन तर तिनीहरूमध्येमा पनि प्रतिभाशाली व्यक्ति हुनसक्छन्, तिनको खोजी हुनुपर्छ । 

हाल केही शहरियाले आफ्नो मौलिकता भएका यस्ता लोकगीतलाई उपेक्षा गर्ने गरेको र अनेक प्रकारका विदेशी गीतमा रमाउने गरेकामा उनी चिन्ता व्यक्त गर्छिन् । चीलले चल्लालाई गाँजेजसरी विदेशी संस्कार र संस्कृतिबाट हामी यसरी गाँजिदै जाने हो भने हाम्रो मौलिकता जोगाउन निकै मुस्किल हुने उनको ठम्याइ छ । 

उनी पुराना गायकलाई आदर गर्नुपर्छ भन्छिन् । उनीहरूबाट प्राप्त प्रेरणाबाटै नयाँ पुस्ताका गायकगायिका चिनिन पाएका हुन्छन् । त्यसैले उनीहरूप्रति सबैले आदर गर्नुपर्ने उनको धारणा छ । उनी नयाँ पुस्ताका गायकगायिका साथीलाई राम्ररी बुझेरमात्र यस क्षेत्रमा आउन सल्लाह दिन्छिन् । ‘रहरले, लहडले वा अरूको लहैलहैमा लागेर यस क्षेत्रमा आउनु उचित होइन,’ उनको सुझाव छ । 

गीत गाउने, एल्बम निकाल्ने आदि कामका लागि अर्काको उक्साहटमा लागेर नबुझी पैसा खर्च नगर्न उनी सबैलाई सल्लाह दिन्छिन् । ‘गीत गाउँदा वा रेकर्ड गर्दा राम्रो मान्छे छान्नुपर्छ, राम्रो स्टुडियो चयन गर्नुपर्छ र भरपर्दो मानिसको सहयोग लिनुपर्छ’ उनीहरूलाई आग्रह गर्छिन् । ‘जुनसुकै क्षेत्रमा खराब मानिस छन् । उनीहरू अरूलाई खर्च गराएर आफू फाइदा लिन चाहन्छन् । अरूको पैसामा आफ्नो स्वार्थ पूरा गर्नेहरूसँग सधैँ सतर्क रहनुपर्छ’ उनी सल्लाह दिन्छिन् । 

आफू केही मानिसबाट गीत गाउने र रेकर्ड गर्ने बाहनामा ठगिएका कारणले अञ्जु अरूलाई यसरी नठगिन सतर्क गराउँछिन् । ‘यो जमानामा सबै मान्छे सहयोगी हुँदैनन्, सहयोगका निहुँले नाजायज फाइदा लिन खोज्छन् । केटीका लागि त यो अझै ठूलो चुनौती हो । आफ्नो कला पनि सार्वजनिक गर्नुपर्ने हुन्छ र आफू जोगिन पनि सक्नुपर्छ । अञ्जुको विचार हो यो । ‘मैले पनि गायनका क्षेत्रमा पैसा लगानी गरेँ तर सोचेजस्तो प्रतिफल पाउन सकिनँ । अरूलाई मेरोजस्तो नपरोस् भनेर मैले यसो भनेकी हुँ’ उनी भन्छिन् । नयाँ पुस्ताका कलाकारले उनको सुझावलाई शिरोधार्य गर्नसके यसले सबैको हित हुनसक्छ । 

 


Views: 124