19th October | 2018 | Friday | 3:31:32 AM

नसिकी फिल्ममा आउँदिन

हिमालय टाइम्स   POSTED ON : Tuesday, 02 October, 2018 (3:09:32 PM)

नसिकी फिल्ममा आउँदिन

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र सातैपिच्छे दुईदेखि तीनवटा प्रदर्शन भइरहेका हुन्छन् । पुरानाभन्दा नवकलाकारका चलचित्र बढी निर्माण भएको पाइन्छ । कुनै रियालिटी शो, सुन्दरता प्रतियोगिताजस्ता माध्यमबाट चलचित्रमा धेरै कलाकार आएको पाइन्छ । यस्तै सुन्दरीबीचको प्रतियोगिताबाट विजेता बनेर आएकी रितिका डंगोल पनि अभिनय तथा मोडलिङमा जम्ने क्रममा छिन् । 

‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’ की महिलातर्फकी विजेता रितिकाले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी थिइन् । उनले थुप्रै पुरस्कारसँगै एक चलचित्र र एक म्युजिक भिडियोमा पनि काम गर्ने अफर पाइन् । एक वर्षभित्रमा उनले एक चलचित्र र एक म्युजिक भिडियोमा काम गर्न पाउने आयोजकले आश्वासन दिएको छ । रितिकालाई विभिन्न म्युजिक भिडियोबाट अफर आइरहेका छन् । 

रितिकाले चलचित्रमा काम गर्न आफू सिकेरमात्र आउने बताएकी छन् । पछिल्लो समय धेरै चलचित्र निर्माण हुनु र धेरै असफल हुनु चलचित्रको विषयमा ज्ञान नभएकै कारण बताउँछिन् । तपार्इं चलचित्र असफल हुनुमा कसलाई दोष दिनुहुन्छ भन्ने हिमालय टाइम्सको प्रश्नमा रितिका भन्छिन्, ‘यही निर्माण युनिटदेखि कलाकार सबैले फिल्मसँग सम्बन्धित ज्ञान लिनु जरुरी छ, कुनै पनि कुरामा राम्रो सँग पढेर बुझेर गरियो भने त्यो अवस्य सफल हुन्छ ।’ रितिकाले आफूले ‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’ को उपाधि जितेसँगै म्युजिक भिडियोबाट अफर आइसकेको बताइन् । ‘केही सिकेर आउँछु भने निर्माण टिम पनि त्यहीअनुसारको हुनुपर्छ, कतिपय विल्कुलै नयाँ टिमले अफर गर्नुहुन्छ’, रितिकाले भनिन् ।

रितिका ‘मिस्टर एण्ड मिस कलिउड आइकन २०१८’ मा सहभागी हुनुभन्दा अघि ‘मिस एभरेष्ट नेपाल २०१७’ मा पनि सहभागी भइसकेकी थिइन् । उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी उनले ‘मिस एभरेष्ट नेपाल’ ले धेरै कुरा सिकाएको बताइन् । अहिले राजधानीको टेक्सास कलेजमा कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययरत रितिकालाई कलक्षेत्रबाहेक सामाजिक कार्य गर्न निकै मन पर्ने बताइन् । यस्तै उनले एअर होष्टेज पनि आफूलाई मनपर्ने काममा लिन्छिन् । रितिकालाई कलाक्षेत्रमा आउन पारिवारिक पृष्ठभूमिले पनि सजिलो बताएको छ । उनका बुबा रामही डंगोल विगतदेखि नेपाली चलचित्र निर्माणको क्षेत्रमा सक्रिए छन् । दशक बढी समयसम्म पर्दापछाडि नै रहेर दर्जनौं चलचित्रमा निर्माण नियन्त्रकको भूमिकामा छन् । यस्तै रितिकाले आमा विनिता श्रेष्ठ डंगोलको साथले पनि आफूलाई कलाक्षेत्रमा आउन सपोर्ट मिलेको बताउँछिन् । 


Views: 61