19th October | 2018 | Friday | 4:20:32 AM

निश्चलले नचिनेको स्वस्तिमाको तस्वीर

हिमालय टाइम्स   POSTED ON : Wednesday, 03 October, 2018 (2:26:24 PM)

निश्चलले नचिनेको स्वस्तिमाको तस्वीर

काठमाडौं । नयाँ चलचित्र ‘बुलबुल’को छायांकन सकिएको छ । चलचित्रमा नायिका स्वस्तिमा खड्का एक टेम्पो चालकको भूमिकामा छिन् । यसअघिका प्रेमकथामा आधारित चलचित्रमा प्रेमिकाको भूमिका निभाउँदै आएकी स्वस्तिमा यो चलचित्रमा भने छुट्टै गेटअपमा छिन् । 

शोमबार भक्तपुरको कमलपोखरी नजिकैको खुला चौरमा हिमालय टाइम्स टिम पुग्दा स्वस्तिमा कुर्तासुरुवालमा सजिएर टेम्पो अगाडि उभिरहेकी थिइन् । यसअघि उनलाई प्रत्यक्ष नदेखेकाले चिन्न नसक्ने भेषमा थिइन् । उनको मेकअपले फरक देखाइरहेको थियो । त्यसस्थानमा चलचित्रमा समावेश एक गीतको छायांकन भइरहेको थियो, जसमा स्वस्तिमाले कम्मर मर्काइरहेकी थिइन् । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । त्यसै समयमा सञ्चारकर्मीसँग कुरा गर्दै स्वस्तिमाले चलचित्रमा टेम्पो चालक बन्न पाउनुलाई अवसरको रूपमा लिएको बताइन् । स्वस्तिमाले ‘बुलबुल’को छायांकन सुरु भएपछिका बिभिन्न रमाइला पलहरू सञ्चारकर्मीहरूसँग शेयर गरेकी थिइन् । उनले ‘बुलबुल’का लागि खिचिएको एक तस्वीर आफ्ना श्रीमान् अभिनेता निश्चल बस्नेतले नै नचिनेको पल सुनाइन् । छायांकन सुरु हुनुभन्दा अघि फ्रेममा राख्न चलचित्रकै अर्की कलाकारसँग आफ्नो एक तस्वीर खिचेकी थिइन् जुन उनी साधारण भेषमा थिइन् अर्थात् कुर्ता सुरुवाल लगाएकी । 

मेकअपबाट केही कालोवर्ण बनाइएको थियो, जसले गर्दा झट्ट हेर्दा निश्चलले स्वस्तिमालाई चिन्न सकेनन् । ‘तस्वीर मैले हृवाट्सएपमार्फत निश्चललाई पठाएकी थिएँ, उहाँले हेरिसकेपछि केही प्रतिक्रिया दिनुभएन पछि घर पुगेपछि दिउँशो कसको फोटो पठाएकी भनेर प्रश्न गर्नुभयो, मैले मेरै हो भन्दा उहाँले विश्वास गर्नुभएन, अझ तिमीजस्तै अरू कोही भएर फोटो पठाएको होला भन्नुभयो’, स्वस्तिमाले सुनाइन् । निश्चलजस्तै आफ्ना धेरै फ्यान आफ्नो गेटअपबाट झुक्किएको बताउँछिन् । 

उनले चलचित्रको छायांकन सुरु नहुँदैको अर्को रमाइलो पल पनि शेयर गरिन् । टेम्पो चलाउन सिक्ने क्रममा अनामनगरका केही फ्यानहरूलाई सम्झिइन् । उनले करिब तीन महिनाको समयसम्म टेम्पो सिकेकी थिइन् । अनामनगरको एक सडकमा बिहानै ६ बजेको समयमा टेम्पो सिक्दै गर्दा केही फ्यानले चिनेर तपार्इं टेम्पो पनि चलाउनुहुन्छ भनेर प्रश्न गरेको सम्झिइन् । ‘बिहान टेम्पो सिक्दै गर्दा केही फ्यानले मलाई टेम्पो पनि चलाउनुहुन्छ भनेर शोधेका थिए, मैले चलचित्रका लागि सिक्दैछु भनेकी थिएँ, उहाँहरूले फोटो खिचरे सामाजिक सञ्जालमा पनि हाल्नुभएछ’, स्वस्तिमाले भनिन् । 

विनोद पौडेलले निर्देशन गरेको यो चलचित्रको छायांकन २५ दिनमै सकिएको थियो । अहिले एक गीतको छायांकनसँगै चलचित्रको छायांकनको काम सबै सकिएको बताइएको छ । अविरल थापा निर्माता रहेको यो चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्र आउँदो फागुन ३ गतेबाट देशभर प्रदर्शन हुनेछ । 


Views: 89