16th December | 2018 | Sunday | 10:28:11 PM

२०औं इमेज अवार्ड सम्पन्न : जाउँला रेलैमा सर्वोत्कृष्ट गीत

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (3:58:57 PM)

२०औं इमेज अवार्ड सम्पन्न : जाउँला रेलैमा सर्वोत्कृष्ट गीत

काठमाडौं । इमेज अवार्डको २०औं संस्करण शनिबार सम्पन्न भएको छ । दुई दशकदेखि निरन्तर नेपाली गीतसंगीतको क्षेत्रमा उत्कृष्ट स्रस्टाहरूलाई सम्मान गरिँदै आएको यो अवार्डमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । 

त्यसैगरी, नेपाललाई लोडसेडिङबाट मुक्त गराउन अहम् भूमिका खेलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘वेष्ट पर्सनालिटी अफ दी इयर’ प्रदान गरियो ।

१८ विधामा प्रदान गरिउको अवार्डमा उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘यो ऐना भनाउँदो...’ गीतका रचनाकार आनन्द अधिकारीले पाए । सर्वोत्कृष्ट समूह वा युगलगायन अवार्ड ‘हावा घरैमा...’ भन्ने गीतका लागि पुजन लोहागन र अनुपमा प्रधानले पाए । त्यसैगरी, सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन’ बोलको गीतका गायक सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीततर्फ ‘जाउँला रेलैमा...’ गीतका संगीतकार कमल खत्रीले अवार्ड प्राप्त गर्न सफल भए । 

सर्वोत्कृष्ट गीतको अवार्ड कमल खत्रीको ‘जाउँला रेलैमा...’ले पाउन सफल भयो । ‘नौलाई शून्य नब्बे’ गीतका रूपकुमार राई र मेनुका राई सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड पाउन सफल भए ।

सर्वोत्कृष्ट गायन लोकगीततर्फ ‘दुई रुपैयाँको बिँडी’ गीतकी गायिका सीता थापालाई अवार्ड दिइयो । सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया’ गीतका संकलक प्रकाश सपुतलाई प्रदान गरियो । त्यसैगरी, सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छिनछिन बज्ने चुरा’लाई प्रदान गरियो । 

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारतर्फ ‘तिमीलाई छुँदै’ गीतका बुद्ध थापा र सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकमा सोही गीतका विकास धमलाले अवार्ड पाउन सफल भए । सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा ‘डोन्ट किलमी’का निशान घिमिरे घोषित भए । यस्तै, सर्वोत्कृष्ट म्युजिक भिडियो विधामा दीपक बज्राचार्यको ‘मन मगन’ले अवार्ड पायो । 

सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउ तिमी...’ गीतका कर्मा ग्याल्जेन बोमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘वन फूल’ गीतकी गायिका दुर्गा परियारलाई प्रदान गरियो । कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आइटम गरेकी थिइन् भने कार्टुन क्रिउको समेत डान्स रहेको अवार्डमा निमा रुम्बा, १९७४ एडीले आफ्नो हिट गीत प्रस्तुत गरेका थिए ।


Views: 118