19th November | 2018 | Monday | 1:57:17 AM

काठमाडौंमा लभ स्टेशन

  POSTED ON : Monday, 05 November, 2018 (7:50:46 PM)

काठमाडौंमा लभ स्टेशन


हिमालय टाइम्स

काठमाडौं । चलचित्र ‘लभ स्टेशन’को टिम दार्जिलिङको छायांकन सकेर काठमाडौं आइपुगेको छ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रको दुई  गीतबाहेकको बाँकी छायांकन तिहारअघि काठमाडौंमा सकिने निर्माण टिमले जनाएको छ । 

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाइमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायांकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’ को युनिट दुई दिनअघि काठमाडौं आएको हो । काठमाडौंको बाँकी १० प्रतिशत छायांकन यतिबेला भइरहेको छ । तिहारसम्ममा काठमाडौंको छायांकन सम्पन्न गर्ने निर्माता गोविन्द शाहीले बताएका छन् ।

१२ आसोजबाट दर्जिलिङबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । ‘हामीले लक्ष्मीपूजासम्म करिब ९० प्रतिशत छायांकन सक्दैछौं । अब तिहारपछि बाँकी एक गीत मनाङका सुन्दर स्थानमा र अर्को एक गीत जापानमा खिचेपछि चलचित्रको छायांकनको काम सम्पन्न हुनेछ ।’ निर्माता शाहीले भने, ‘हामीले निर्धारित ४५ दिनभित्र चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न गर्दैछौं । लभ स्टेशनलाई वर्षको अन्तिमसम्ममा देशव्यापि रुपमा हलमा रिलिज गर्नेछौं ।’

चलचित्र उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको निर्देशक घिमिरेको भनाइ छ । चलचित्रभित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रष्ट्याएका छन् ।

यस्तै, अभिनेता प्रदीपले पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमाभन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रसंसनीय भएको अभिनेताको भनाइ छ । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिशा कार्कीको संगीत छ । चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 


Views: 62