10th December | 2019 | Tuesday | 10:58:52 AM

असहमतिको दस्तावेज राजा नव–बास्सा

  POSTED ON : मंसिर ९, २०७५ (३:३७ PM)

असहमतिको दस्तावेज राजा नव–बास्सा

काठमाडौं (हिटा) । पत्रकार तथा लेखक राजन कार्कीको कृति ‘राजा, नव–बास्सा’ लोकार्पण भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक वरिष्ठ पत्रकार भैरव रिसाल र तीर्थ कोइराला, इतिहासविद् डा. सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, समाचोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल लगायतले संयुक्तरूपमा लोकार्पण गरे । यससँगै शेखर ढुंगेलको संस्करणात्मक कृति ‘भैरव दाइको सय रुपैयाँ र म पनि लोकार्पण गरियो । 

‘राजा नव–बास्सा’ मा लेखक कार्कीले पछिल्लो राजनीतिक परिवर्तनमा नेताहरूले गरेका वाचा पूरा गर्न नसकेको निष्कर्षसहित विभन्न घटनाहरूलाई आलेखका रूपमा प्रस्तुत गरेका छन् । उनी पछिल्लो राजनीतिक परिवर्तनको परिणामप्रति असन्तुष्ट देखिएका छन् । जनअपेक्षा पूरा गर्न राजनीतिक नेताहरू असफल भएको उनको निष्कर्ष पुस्तकमा देखापर्छ । उनले पुस्तकमार्फत नेताहरूलाई सचेत गराउने प्रयास गरेका छन् । 

आफ्नो लेखकीय मन्तव्यमा कार्कीले ‘यो पुस्तक म उभिएको माटो हो’ भनेका छन् । प्रश्न उठाउने नागरिकको हक भएकैले आफूले प्रश्नहरू उठाएको र जिज्ञासा राखेको उनको भनाइ छ । ‘जे देखियो, त्यही लेखियो,’ उनले भनेका छन्, ‘सबै प्रश्न र जिज्ञासाको उद्देश्य मात्र सकारात्मक सुधारका लागि हुन् । कसैप्रति मेरो व्यक्तिगत आक्षेप छैन ।’

लोकार्पण समारोहमा पुस्तकमाथि संक्षिप्त टिप्पणी गर्दै पत्रकार तीर्थ कोइरालाले कार्कीको पुस्तक असहमतिको पुलिन्दा हो भने । उनले भने, ‘यो पुस्तक सिंगो प्रतिपक्षी आवाज हो, असहमतिको विचार हो, स्थायी प्रतिपक्षको दस्तावेज हो ।’ कोइरालाले कार्कीको पुस्तक उनको विचारसँग सहमत हुनेले भन्दा बढी असहमत हुनेहरूले र अहिलेको सत्तापक्षले पढ्नुपर्ने सुझाव दिए । 

इतिहासविद् डा. केसीले कार्कीको पुस्तक यसअघिको ‘बागमती र राजनीति’ कै निरन्तरताका रूपमा आएको बताए । नयाँ पुस्तकले राजनीतिक चिन्तनमा कार्कीको निरन्तरता देखाएको उनको भनाइ थियो । डा. केसीका विचारमा यस्तो निरन्तरताले लेखकको विश्वसनियता बढाउँछ । लेखन धाराप्रवाह रहेको र धेरैजसो नेपाली लेखकमा यस्तो गुण नहेको उनले बताए । उनका विचारमा मान्छेको अनुभूति महŒवपूर्ण कुरा हो र अनुभूतिलाई सिर्जनाका रूपमा पाठकलाई दिनु झनै महŒवपूर्ण हो । उनले कार्कीको पुस्तकले साहित्य र पत्रकारिता दुवैको धर्म निर्वाह गरेको पनि बताए ।  

कार्कीको पुस्तकमाथि समालोचक प्रा. डा. लुइँटेल, नइ प्रकाशनका नरेन्द्रराज प्रसाईं, सीमाविद् श्रेष्ठ लगायतले पनि टिप्पणी गरेका थिए । समारोहमा वरिष्ठ पत्रकार रिसाललाई सम्मान गरिएको थियो । 

कार्कीको पुस्तकमा ‘राज नव–बास्सा’ मा कुल ४५ वटा आलेख समावेश छन् । यसबाहेक समालोचक हरि अधिकारीको टिप्पणी र लेखकको लेखकीय मन्तव्य समावेश छ । पुस्तकका प्रकाशक हीरेन्द्र ताम्राकार रहेका छन् । 

यसअघि कार्कीका उपन्यास ‘झरीको आकाश’, कविता संग्रह ‘हजारौँ छाल’, आख्यान ‘बागमती र राजनीति’ तथा पाँचवटा अनुवाद कृति प्रकाशित छन् । 

ढुंगेलको संस्मरणात्क कृति ‘अतीतका सम्झना, भैरव दाइको सय रुपैयाँ र म’ मा २३ वटा शीर्षकमा आत्मसंस्मरण समावेश छन् । यसबाहेक भैरव रिसाल, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, राजन कार्की, सुवासचन्द्र ढुंगेल, ममता कर्माचार्य र घनेन्द्र ओझाका टिप्पणी तथा शुभकामना मन्तव्य र लेखकको लेखकीय टिप्पणी समावेश छन् । पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो । 



Views: 140

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)