19th December | 2018 | Wednesday | 1:29:05 AM

सकिँदै पुरानाको क्रेज

गोपिकृष्ण चापागाईं ।   POSTED ON : Friday, 30 November, 2018 (2:19:48 PM)

सकिँदै पुरानाको क्रेज

काठमाडौं । चलचित्र निर्माताहरू अचेल नयाँ पुस्ताका हिरो लिएर चलचित्र निर्माण गरे घाटामा गइन्न भन्ने मनस्थितिमा पुगेका छन् । त्यसैकारण होला प्रायः निर्माताले अग्रस्थानमा नायक अनमोल केसी, दोस्रोमा प्रदीप खड्का, तेस्रोमा पल शाह गर्दै क्रमशः सलिनमान बनिया, धिरज मगर लगायतका नायक लिएर चलचित्र निर्माण गर्न खोजेको पाइन्छ । नयाँ पुस्ताका कलाकारमा निर्माता ढुक्क हुने अवस्था कति छ त ? यो प्रश्नको जवाफ ठ्याक्कै दिन नसकिएला तर शुक्रबार र शनिबार भने कलाकारको क्रेजकै कारण दर्शक हलसम्म आउने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । 

हिरोको मात्र के कुरा हिरोइनको रूपमा पछिल्लो समय भित्रिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहदेखि आँचल शर्मासम्ममा पनि निर्माता लगानी गरे केही हदसम्म चलचित्र सुरक्षित हुन्छ भन्ने तर्क गर्छन् । तर चलचित्र बनाउँदै गर्दा कलाकार हेरेर मात्र हुँदैन त्यसको कथावस्तु अनि त्यसले खोजेका पात्र अनुसार कलाकार छान्न सक्नुचाहिँ बुद्धिमानी मान्छि । खासगरी अहिले नयाँ कलाकारलाई लिएर चलचित्र बनाउने लहड नै चलेको छ । पुराना कलाकारको क्रेज बिस्तारै सकिँदै गएको छ । उनीहरूलाई लिएर पनि चलचित्र निर्माण गर्न सकिन्थ्यो होला तर त्यस अनुसारको कथाको कमी सायद नेपाली चलचित्रमा भएकाले होला अचेल उनीहरू फुर्सदिला देखिन्छन् । 

अभिनेता राजेश हमाल, शिवश्रेष्ठ, भुवन केसी, धिरेन शाक्यलाई लिएर चलचित्र निर्माण हुनै छाडिसके । नायकको मात्र होइन, नायिकाको रूपमा पनि कुनै समय एकछत्र राज गरेकी अभिनेत्री करिष्मा मानन्धर अचेल मेकरको नजरमा पर्दिनन् । कालान्तरमा आएर राजनीतिमा होमिए पश्चात त उनलाई चलचित्रको अफर समेत आउन छाडेको छ । अहिले उनी अध्ययनलाई फोकस गरिरहेकी छिन् । राजेश हमालले पनि चलचित्रबाट अफर आउन छाडेपछि निर्देशन विधा अंगाल्ने होहल्ला चलेकै हो । तर उनले स्क्रिप्टको काम भइरहेको र छिट्टै उक्त प्रोजेक्ट घोषणा गर्छु भन्दै आइरहेका छन् । यता राजेशकै समयका हिरो धिरेन शाक्य भने चलचित्र निर्माणमा प्रयोग हुने औजार वितरणतर्फ लागेका छन् । भुवन आप्mनै छोरा अनमोललाई लगानी गर्ने मेकरसँग सहकार्य गर्दै चलचित्र निर्माणमा लागिपरेका छन् । यी पुराना हिरो पर्दामा आउन त चाहन्छन् तर मेकर अब यी कलाकारमा लगानी गर्न उतिसारो इच्छुक छैनन् । करिष्माको जस्तै पुराना अभिनेत्री झरना थापा, रेखा थापा हुँदै केकी अधिकारी, ऋचा शर्मा लगायतका नायिका लिएर पनि चलचित्र निर्माण गर्न मेकरले छाडिसकेका छन् । रेखा, ऋचा र केकी आफै लगानी गरेर चलचित्र निर्माण गर्नतर्फ लागेका छन् । बाहिरी ब्यानरबाट अफर कम आउन थालेपछि आफै मेकिङमा यिनीहरू होमिएका हुन् । 

नायक आर्यन सिग्देलले पछिल्लो समय निर्माण तथा अभिनय गरेको ‘कायरा’ वर्षकै असफल चलचित्रमा गनियो । अभिनय राम्रो गरे पनि कथा छान्न नसक्नु आर्यनको कमजोरीको रूपमा धेरैले औंल्याए । अहिले उनी आप्mनै व्यानरमा सीमित हुन पुगेका छन् । निखिल उप्रेती पनि पहिलाकै क्रेज फर्काउन संघर्ष गरिरहेका छन् । खालि एउटै एक्सन अवतारमा देखिने उनका लागि समेत अबको समय चुनौतीपूर्ण छ । एक्सनकै कारण दर्शकबाट स्टारको ट्याग पाएका विराज भट्ट आप्mनै निर्माण तथा निर्देशनमा ‘साङ्लो’ नामक चलचित्र लिएर आउने तयारीमा छन् । यो चलचित्रको छिट्टै सुटिङ प्रारम्भ हुने जानकारी आएको छ । यद्यपि विराजलाई लिएर अब मेकरले चलचित्र बनाउने हत्तपत्त आट गर्दैनन् । किनकि पछिल्लो उनी अभिनित चलचित्र ‘पर्शुराम’को बक्स अफिस कलेक्सन लाजमर्दो नै भयो ।

यसरी समग्रमा हेर्दा पुराना कलाकारमा मेकरले लगानी गर्ने अवस्था हाल देखिँदैन । थिएटरबाट आएका सौगात मल्ल, दयाहाङ राई लगायतमा समेत मेकर चेतिसकेका छन् । अभिनय राम्रो गर्छन् कलाकार तर हलमा दर्शक आइदिँदैनन् । पछिल्लो समय भने कमेडी जनराको चलचित्रले मार्केट कब्जा गरेको छ । अब पुराना कलाकारले पनि यो क्षेत्रमा सिकेको सीप, ज्ञान र क्षमता कलाकै अन्य विधामा प्रयोग गर्ने हो भने खस्किएको सिने क्षेत्रमा केही सुधार पो आउँथ्यो कि ? केही पुराना कलाकार भने देश छोडी परदेशतर्फ लागेका छन् । सुशील क्षेत्री, दिलीप रायमाझी, राजबल्लभ कोइराला, युना उप्रेती, जीवन लुइँटेल लगायतका कलाकार नेपालबाहिर रहेका छन् । 

अफर आउन्जेल चलचित्रमा काम गर्ने र पछि विदेश भासिने कलाकार बढ्दै गइरहेका छन् । त्यसो त नयाँको आगमन पनि बढ्दो छ । प्रतिभावान कलाकार पनि भित्रिएका छन् । एउटै चलचित्रले स्टार हुने पनि छन् । तथापि वर्षमा बन्ने सय हाराहारीको चलचित्रमा दर्जन चलचित्रले मात्र लगानी उठाएका छन् । यो विडम्बनाको कुरा हो । अब चलचित्र मेकर नै छानिनु हुनु जरुरी छ । बजारले मागे भन्दा बढी चलचित्र निर्माण गरिनुले प्राविधिक र कलाकारले रोजीरोटी त पाउलान् तर चलचित्र क्षेत्रलाई भने यसले खासै फाइदा पु¥याउँदैन । 


Views: 57