19th December | 2018 | Wednesday | 12:41:27 AM

छक्का पञ्जा ३ : ५१ दिनमा १७ करोड

हिमालय टाइम्स   POSTED ON : Friday, 30 November, 2018 (2:31:25 PM)

छक्का पञ्जा ३ : ५१ दिनमा १७ करोड

गएको असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । चलचित्रले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुँदै ५१ औँ दिन पार गरेको हो । 

उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गंगा सिनेमा बालाजु, गोपीकृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसैगरी मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगन्ज तथा विन्ध्यवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भयो । अघिल्लो सिरिजहरू छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने चलचित्रमा छक्का पञ्जा सिरिज नै पर्छ । तीनै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

आमा सरस्वती मुभिजको प्रस्तुतिमा बनेको यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरि पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रूपमा जितु नेपाल र केदार घिमिरे रहेका छन् । अघिल्लो सिरिजझैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र ताराचन्द्र बजगाईं ‘निशान’ निर्माताको रूपमा रहेका छन् । निर्देशक दीपाले चलचित्रको सम्पूर्ण टिमले राम्रो काम गरेकाले चलचित्र सफल भएको बताउँछिन् । ‘मेरो टिमको सबैको धेरै मेहनत गरेका छौं । हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडि बढेका थियौं, जसलाई दर्शकले झनै मन पराउनुभयो । यसले हामीलाई झनै उत्साह बढेको छ’, दीपाले भनिन् । यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रले आफूहरूलाई मात्र नभएर प्रदर्शक र वितरकलाई पनि खुसी बनाएको बताए । ‘चलचित्रले हामीलाई मात्र होइन प्रदर्शन, वितरकलाई पनि खुसी बनाएको छ । हामीले विदेशमा चलचित्र प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसी बनाएको छ नै प्रायः चलचित्र नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौं’, दीपकले भने ।

चलचित्रले ५१ औं दिनसम्म आइपुग्दा जम्मा १७ करोडको आम्दानी गर्न सफल भएको छ । राजधानी वितरक मनोज राठीका अनुसार चलचित्रले ८ करोड ग्रस कलेक्सन गरेको छ भने यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार चलचित्रले ९ करोड ग्रस कमाइ गरिसकेको छ । दीपकराज गिरीले लेखेको कथामा संवाद पनि उनीसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठले लेखेका हुन् । चलचित्रमा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सुनयमान श्रेष्ठको मिक्सिङ, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । 

 


Views: 52