19th December | 2018 | Wednesday | 12:33:33 AM

दोस्रो सातामा ड्रिम गर्ल

  POSTED ON : Sunday, 02 December, 2018 (7:09:00 PM)

दोस्रो सातामा ड्रिम गर्ल

काठमाडौं (हिटा) यही मंसिरको ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम गर्ल’ दोस्रो साता प्रदर्शन भइरहेको छ । ऋषिराज आचार्यले निर्देशन गरेको यो चलचित्र एक प्रेमकथामा आधारित चलचित्र हो जसमा नायक आकाश श्रेष्ठ र नवनायिका आश्मा गिरीको मुख्य भूमिका छ । 

चलचित्रले पहिलो साता राम्रो व्यापार गरेपछि दोस्रो साताबाट मध्यम व्यापार गरिरहेको छ । यो साता नेपाली चलचित्र हलहरूमा अन्य नेपाली चलचित्र प्रदर्शन नभएकाले पनि ‘ड्रिम गर्ल’ ले धेरै हल पाउन सफल भयो त्यसैले पनि चलचित्रलाई ब्यापारमा फाइदा पुगेको छ । केही दिनअघि मोफसल यात्रा गरी फर्र्किएको चलचित्र टिम दर्शकले मन पराएकोमा खुशी देखिएको छ । लभ, कमेडी, एक्शन र सेन्टिमेन्टसले भरिएको चलचित्रमा आकाश र आश्मासँगै विल्सन विक्रम राई, पूजा पराजुली, सुरवीर पण्डित, अर्जुन श्रेष्ठ, शिशिर भण्डारीलगायत कलाकारले अभिनय गरेका छन् । 

अर्जुन शर्मा, रामेश्वर घिताल, निर्देशक ऋषिराज आफैं र दक्षिण भारतीय कम्पनी रिल एण्ड रियलको संयुक्त निर्माणमा बनेको फिल्म काठमाडांै, रारा ताल र थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको हो ।

स्वदेशको प्रदर्शनपछि ‘ड्रिम गर्ल’ विदेशमा प्रदर्शन गरिने निर्देशक आचार्यले बताउँछन् । आरबि मुभिजको ब्यानरमा बनेको फिल्मको स्क्रिप्ट निर्देशक ऋषिराज आफैंले लेखेका हुन् । नवीन निरौलाले सम्पादन गरेको चलचित्र राहुल राई र रामेश्वर हुमागाईंले खिचेका हुन् । 

नवनायिका आश्माको कामको तारिफ गरिएसँगै चलचित्र करिअरमा फाइदा पुग्ने देखिएको छ । पहिलो चलचित्रबाटै चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकबाट राम्रो प्रतिक्रिया मिलेसँगै उनी खुशी देखिएकी छन् । 

 


Views: 62