27th June | 2019 | Thursday | 4:23:28 AM

‘देश यस्तो होस्’ भन्दै नृत्य

  POSTED ON : मंसिर २३, २०७५ (१०:५८ AM)

‘देश यस्तो होस्’ भन्दै नृत्य


हिमालय टाइम्स 

काठमाडौं । ललितपुरको सेन्ट मेरिज स्कुलका कक्षा १ देखि ५ सम्म पढ्ने नानीहरू शनिबार बिहान ‘हाम्रो देश यस्तो होस्’ भन्दै नृत्य गर्दै थिए । 

उनीहरूले चाहेको नेपालमा छोरीले बलात्कारको शिकार हुनु हुँदैन थियो । छोरा अपहरणमा पर्नु हँुदैन थियो । रोजगारीका लागि युवाहरू खाडी मुलुक भासिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने थियो । आफ्नै देशमा पाखुरी बजार्न पाउने वातावरण उनीहरूको माग थियो । नेपालमा नै पसिना बगाउनु पर्ने चाहना उनीहरूको थियो । स्टेजमा कलिला नानीले यस्तो भावको गीतमा नृत्य गरिरहँदा वातावरण स्तब्ध भएको थियो । जब उनीहरूले नृत्य सकेर निहुरिदैँ बिदा माग्न थाले, तालीको गड्गडाहट सुरु भयो । 

जावलाखेलस्थित उक्त स्कुलका विद्यार्थीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको अवसरमा त्यस्तो भावको गीतमा नृत्य गरेका थिए । उनीहरूले नेपाल विविधताभित्र एकता भएको मुलुक भएको बताउँदै मैथिली, नेवारी भाषाको गीतमा समेत नृत्य गरे । बेली नृत्य अत्यन्तै मनमोहक थियो ।

राष्ट्रियता र विश्व शान्तिको कामना गर्दै गाएका गीतले दर्शक दीर्घामा बसेका अभिभावक र शिक्षकहरू भावुक बनेका थिए । निकै आत्मविश्वासी देखिएका बालिकाहरूले गीत मार्फत आफू स्वतन्त्र भएर बाँच्न चाहेको सन्देश दिएका थिए । हत्या, बलात्कार जस्ता घटनाले आफूहरूलाई त्रसित बनाएको बताउँदै त्यस्तो वातावरण अन्त्यको माग समेत गरे । 

कार्यक्रममा स्कुलका प्रिन्सिपल सिस्टर मेरियट सिजेले प्रत्येक विद्यार्थीलाई प्रस्तुतिमा सहभागी गराएको बताइन् । लामो तयारी र मिहिनेतले सबैलाई सहभागी गराउन सकिएको बताउँदै शिक्षिकाहरूको लगावको प्रशंसा गरिन् । उनले सांस्कृतिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । कार्यक्रममा ‘रिजनल सुपेरियर सिस्टर’ जेसी सिजेको समेत उपस्थिति थियो । 


Views: 122