19th September | 2019 | Thursday | 8:27:09 PM

प्रहरीले रोक्यो बिनुको नृत्य

हिमालय टाइम्स   POSTED ON : मंसिर २४, २०७५ (१२:३५ PM)

प्रहरीले रोक्यो बिनुको नृत्य

काठमाडौं । शनिबार साँझ करिब पाँच बजेको थियो । काठमाडौंको टुँडिखेलमा भएको रग्बी वल्र्ड कप टुर–नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा थुप्रै सेलिब्रेटीले आआफ्नो प्रस्तुति दिइरहेका थिए । 

गायक स्वप्न सुमनको प्रस्तुतिपछि बेली डान्सर भनेर चिनिएकी मोडल बिनु शाक्यको नाम उद्घोषकले लिए । जब बेली डान्सका लागि बिनु शाक्य आउँदै हुनुहुन्छ उद्घोष भने, स्टेजअगाडि उभिएका करिब दशहजार दर्शकको हुटिङ निकै थियो । 

स्वप्नको प्रस्तुति सुरु हुँदैबाट स्टेजको पछाडि बसेकी बिनु ड्रेस लगाएर तयारी अवस्थामै थिइन् । जब नाम लिँदासाथ उनी स्टेज चढिन् युवा दर्शक उम्लिन थाले । उनीको ड्रेस देखेरै युवा दर्शक चिच्याइरहेका थिए । स्टेजको वरिपरि रहेका प्रहरीले निग्रानी राखिरहेका थिए । 

बिनुले बेली डान्स गरेपछि दर्शकबाट ‘वान्स मोर’को शब्द धेरैपटक सुनियो तर त्यसपछि अरू सेलिब्रेटीले प्रस्तुति दिन थाले । बुझिएअनुसार बिनुले उक्त स्टेजमा दुईवटा गीतमा नृत्य गर्न भनिएको थियो तर पहिलो नृत्यबाटै युवा दर्शक ‘कन्ट्रोल’मा नहुँदा प्रहरीले बाँकी प्रस्तुति रोकिदियो ।

मोडल बिनु थुप्रै स्टेजमा बेली डान्स गर्ने गर्छिन् तर टुँडिखेलमा भएको उक्त स्टेजमा लगाएको उनको ड्रेस पहिलो थियो । उनी अहिलेसम्म यस्तो ड्रेसमा प्रस्तुत नभएको बताउँछिन् । उनको प्रस्तुती भल्गर नभए तापनि युवा दर्शक अनियन्त्रित भएपछि बिनुको बाँकी प्रस्तुती प्रहरीले रोक्नु परेको थियो ।

 बिनु एक व्यावसायिक मोडल हुन् । उनी मोडलिङक्षेत्रमा पनि पढेर आउनुपर्छ भन्ने मान्यता राख्ने कलाकार हुन् । बिनुले अंग्रेजी र आमसञ्चार विषयमा मास्टर गरिसकेकी छन् । उनी अन्य विषयमा पनि अध्ययन बढाउने सोंचमा छिन् । 

टुँडिखेलमा भएको उक्त कन्सर्ट नेपाल रग्बी एसोसिएसनले फेम नेपालसँगको सहकार्यमा आयोजना गरेको हो । कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’लागायत गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन्लागायतले प्रस्तुति राखेका थिए । कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिकसमेत गरिएको थियो । 

उपराष्ट्रपती नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । शुभेक्षा खड्का र रविन तमाङले सञ्चालन गरेको कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चलेको थियो ।


Views: 153