27th June | 2019 | Thursday | 4:42:29 AM

बुलबुल टिजर सार्वजनिक

  POSTED ON : पुष १, २०७५ (१२:२५ PM)

बुलबुल टिजर सार्वजनिक

काठमाडौं (हिटा) । चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक गरिएको छ । डेढ महिनाअघि चलचित्रको गीत सार्वजनिक गर्दा फरक शैली अपनाएको चलचित्र निर्माण टिमले यसपटक टिजर पनि अनौठो स्वादमा आएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खडकाको रूप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका नवनायक मुकुन भुसालको अभिनय स्वाभाविक र दमदार देखिएको छ ।

टिजर हेर्दा चलचित्रमा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ । यसअघि हेर्दै आइएको अन्य चलचित्रका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्नेभन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजेको देखिन्छ । 

यसअघि चलचित्र टिमले ‘खुद्राखाद्री मायाले’ बोलको गीत सार्वजनिक गरेको थियो । विनोद पोडेल निर्देशित यो चलचित्रमा नायिका स्वस्तिमा अहिलेसम्मकै फरक भूमिकामा देखिएकी हुन् । अहिलेसम्म प्रदर्शन भएका नायिका स्वस्तिमाका चलचित्रमा उनी प्रेमिकाको भूमिकामा देखिँदै आएकी थिइन् । तर यसपटक यो चलचित्रमा भने उनलाई दर्शकले बिल्कुलै फरक भूमिकामा पाउनेछन् ।

चलचित्रका निर्माता अविरल थापाले एकसातापछि चलचित्रमा समावेश अर्को गीत सार्वजनिक गरिने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । 

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको छ । चलचित्र आगामी फागुन ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 


Views: 77