27th June | 2019 | Thursday | 3:36:25 AM

खुमन र देवि बने उत्कृष्ट वर्ष लोकदोहोरी गायकगायिका

हिमालय टाइम्स   POSTED ON : पुष २, २०७५ (८:१४ AM)

खुमन र देवि बने उत्कृष्ट वर्ष लोकदोहोरी गायकगायिका

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा सम्पन्न ‘पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्ड’मा यस वर्षको उत्कृष्ट लोकदोहोरी गायक खुमन अधिकारी र उत्कृष्ट लोकदोहोरी गायिका देवि घर्ती भएकी छन् । खुमनले ‘नभन न नाईं नाईं’ बोलको गीतबाट अवार्ड चुमे भने देविले खोलीको किनारा गीतबाट अवार्ड चुमेकी हुन् । यस्तै बर्षको लोकदोहोरी नायक (मोडल)मा प्रेम थापा र लोकदोहोरी नायिका (मोडल)बाट सारिका केसीले अवार्ड हात पारे । 

यस्तै, लोकदोहोरी नायक र नायिका (नृत्य)तर्फ मोडल शंकर बिसी र करिश्मा ढकालले अवार्ड जिते । यस्तै वर्षको उत्कृष्ट दोहोरी साँझ गायकबाट मदन परियार र दोहोरी साँझ गायिकाबाट रञ्जिता थापाले अवार्ड हात पर्न सफल भए । उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो अवार्ड कार्यक्रममा अमर विरही गुरुङ, प्रजापति पराजुली, नारायण रायमाझी, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, रमेशबाबु श्रेष्ठ, राजन लम्साल, पृथ्वी थाकाली, कुमार बस्नेत, जीवन शर्मा, ऋषि अधिकारी, बिमा कुमारी दुरा, सीता थापा, लक्ष्मी न्यौपाने, राजनकुमार हुमागार्इं, एसपी सापकोटा, बिराज थापा, शशी शर्मा मजगैयालगायत थुप्रै कलाकार र पत्रकारको उपस्थिति थियो ।

समारोहमा अवार्ड र अन्य सम्मान गरी जम्मा ३४ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा दशकका स्रष्टा सम्मानबाट इन्द्र जिसी, लोक पत्रकारिता सम्मानबाट नरहरी न्यौपाने, म्युजिक भिडियो मेकअप सम्मानबाट आङदोर्जे थेर्पा र म्युजिक भिडियो कोरिस सम्मानबाट देवराज सापकोटा सम्मानित भएका थिए । 


Views: 121