27th June | 2019 | Thursday | 3:50:22 AM

फिल्मी कथा बन्यो वेदप्रसादको जीवन भोगाइ

हिमालय टाइम्स   POSTED ON : पुष ३, २०७५ (७:०५ AM)

फिल्मी कथा बन्यो वेदप्रसादको जीवन भोगाइ

काठमाडौं । कसैको जीवनमा भोगेका कुरा सुन्दा अचम्म लाग्नसक्छ । यस्तो पनि हुन्छ र भन्ने जीवन भोगाइमा कतिपय चलचित्र पनि बन्ने गरेका छन् । यस्तै, जीवनको फरक भोगाइको पात्र इलाम चुलाचुलीका वेदप्रसाद भुर्तेल बनेका छन् । उनको जीवन भोगाइ एक कथा नै बनेको छ । 

नेपालमा अझैपनि जातीय विभेदकै कारण कतिपयले अपहेलित हुनु परेको छ । कतिपयको सम्बन्ध बिच्छेद भएको छ । यस्तै, देवप्रसादको पनि जातीय विभेदकै कारण जीवनमा ठूलो मोड आइदियो । चुलाचुली गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा वेदप्रसाद सानै उमेरदेखि कुसंस्कारविरुद्ध लागे । समाजमा रहेको अन्धविश्वासको पर्खाल तोड्दै २०६८ को पुसमा अन्तरजातीय विवाह गरे । 

झापाको अर्जुनधाराकी निलम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता गरे । तर, दुर्भाग्य, सोही सालको चैतमा जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भयो । 

सम्बन्ध विच्छेद उनको बाध्यतात्मक अवस्था थियो । प्रेमको नाता सम्बन्ध कायम सम्बन्ध विच्छेदको कागजले कहाँ रोक्छ र ? उनलाई सम्बन्ध विच्छेदका कागजले निलमसँगको प्रेमको सम्बन्ध तोडाउन सकेन । 

कानुनी रूपमा सम्बन्ध विच्छेद भए पनि निलम र उनको सम्बन्ध चाहिँ कायमै थियो । सम्बन्ध राम्रो भएकै बेला २०५९ वैशाखमा उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए । ११ महिनाको मलेसिया बसाइपछि उनी  नेपाल फर्किए । २०७२ कात्तिक ७ मा निलमले काठमाडौंकै एक हस्पिटलमा छोरा जन्माइन् । अदालती कागजमा उनीहरूबीच सम्बन्ध विच्छेद नै छ । तर, उनको छोराको जन्म दर्ता भइसकेको छ । हालसम्म पारिवारिक सम्बन्ध प्रगाढ छ । 

निलम परियार र वेदप्रसाद भुर्तेलबीच सम्बन्ध राम्रो छ । मात्र निलम वेदप्रसादको घरमा जान पाएकी छैनन् । निलम मात्रै होइन, वेदप्रसाद केही वर्षयता घर गएका छैनन् । ‘घरमा गए पनि वुवा आमा, दिदीबहिनीसँग फोनमा कुरा भइरहन्छ,’ भुर्तेलले भने, ‘बुहारीलाई नराम्रो लाग्ला कि भनेर अहिलेसम्म गएको छैन । अपमान होलाकी भन्ने लागेर मैले नै नलगेको हो ।’ वेदप्रसाद २०६० सालतिर चलचित्र ‘मुक्ति’ मा कलाकारको भूमिकामा देखिएका थिए । उनी त्यसभन्दा अघि २०५८ मा देउराली नाट्य समूहमार्फत् नाटक गरेका थिए । 

अहिले उनी आफैँ नेपाली चलचित्रको अभिनय गर्छन्, निर्देशन गर्छन् । त्यतिमात्र नभएर पटकथा आफैँ तयार पर्छन् । यो उनीमा भएको खुबीको कुरा हो । उनले इलाहवाद, हैदरावादलगायतका स्थानका पुगेर चलचित्रसम्बन्धी ज्ञान आर्जन गरेका छन् । त्यतिमात्र होइन, देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने दक्षता उनीसँग छ । र, गरि पनि रहेका छन् । अहिले ‘नदेखिएको जात’ बन्दैछ । जसमा उनी आफैँले भोगेका घटना समेट्दै छन् । 

उनको आफैँले निर्देशनमा बन्न लागेको चलचित्र ‘नदेखिएको जात’ मा समाजमा संकुुचित भावनाबाट ग्रसितहरूको चेतना वृद्धिमा ठूलो सहयोग पुग्ने विषय समेटिनेछ । 

यसमा मुख्य भूमिकामा उनी नै देखिँदैछन् । किन कि ‘नदेखिएको जात’ उनकै भोगाइ केन्द्रित छ । यो चलचित्र यहीको दोस्रो साता छायांकन प्रारम्भ हुनेछ । भुर्तेल आफैँ राम्रा कलाकार हुन् । चलचित्र ‘संजोग’ को लेखन, निर्देशनपछि उनले युवामा देखिएको लागूऔषध दुव्र्यसनीको विषयमा बनेको चलचित्र ‘मनशा’ को निर्देशन गरेका थिए । त्यसपछि ‘बुलेट’ र ‘कुर्बान’ नामक चलचित्र निर्देशन गरे । 

उनी ‘नेपाली युवा र नेपाली समाज विकासका निम्ति युवा अभियान’ नामक पुस्तकका लेखक पनि हुन् । त्यतिमात्रै विश्व कलाकार महासंघ र नेपाल इभेन्ट अर्गनाइजेसन, राष्ट्रिय चलचित्र निर्देशक समाजको आजिवन सदस्य हुन् ।  


Views: 102