19th September | 2019 | Thursday | 9:09:17 PM

फिल्म निर्देशनमा दयाहाङ !

हिमालय टाइम्स   POSTED ON : पुष ४, २०७५ (१२:३९ PM)

फिल्म निर्देशनमा दयाहाङ !

काठमाडौं । अभिनेता दयाहाङ राईका पछिल्लो केही चलचित्रले राम्रो आम्दानी गर्न सकेका छैनन् । तर उनी महिनैपिच्छे हलमा आइरहेका हुन्छन् । उनका अझै पनि ६ वटा चलचित्र प्रदर्शन हुन बाँकी छन् । 

केही वर्षअघिसम्म दयाहाङलाई चलचित्रमा काम गराउन निर्माता तथा निर्देशकहरू लाइकमा हुन्थे तर अहिले त्यो समय छैन । छोटो समयमै दयाहाङ चलचित्र करिअर ओरालो लाग्दा अब उनको करिअर कता पुग्ला भन्ने प्रश्न ठडिएको छ । 

केही महिनाअघिसम्म एकपछि अर्को गर्दै महिनैपिच्छे चलचत्रि प्रदर्शनमा आउँदा सञ्चारकर्मीले छानेर गर्ने दिन कहिले आउँछ भन्ने प्रश्न गर्थे । उनले चलचित्रको काम लगातार हुनु ठूलो कुरा नभएको तर चलचित्र प्रदर्शन एकै समयमा आउँदा आफूले धेरै चलचित्रमा काम गरेको जस्तो भएको उत्तर दिएका थिए । 

दयाहाङ चलचित्रसँगै नाटकमा पनि व्यस्त छन् । उनले नाटक पनि निर्देशन गर्दै आएका छन् । नाटक निर्देशनमा पोख्त मानिएका दयाहाङले चलचित्र निर्देशन कहिले गर्लान् भन्ने विषय चलचित्रक्षेत्रमा चल्दै आएको पनि हो । अब चलचित्रको करिअर ओरालो लाग्दै गर्दा के निर्देशनमा हात लाग्छन् होला त ? यो प्रश्न चलचित्रकर्मीमाझ उठिरहेको हुन्छ ।

मंगलबार राजधानीमा आयोजित उनी अभिनित ‘दयारानी’ चलचित्रको पत्रकार सम्मेलनमा धेरैको जिज्ञासा भेटाइदिए । उनले आफूले चलचित्र निर्देशन त गर्ने तर कहिले गर्ने भन्ने कुरा टुंगो नभइसकेको जानकारी दिए । ‘मलाई बेलाबेलामा निर्देशन गरुँ कि भन्ने मनमा भइरहन्छ, निर्देशन त गर्छु तर कहिले गर्छु मलाई नै थाहा छैन’, उनले भने । यस्तै उनले आफूलाई पहिलादेखि कलाकारभन्दा निर्देशक भन्ने सोच रहेको बताए । ‘मैले निर्देशन गर्न सक्ने कथा भेटेँ भने पक्कै गर्छु’, उनले थपे ।

दयाहाङका ‘जात्रै जात्रा’, ‘साइँली’, ‘आप्पा’, ‘दयारानी’, ‘नीरफूल’ प्रदर्शनमा आउन बाँकी चलचित्र हुन् । यस्तै उनले नयाँ चार चलचित्रमा काम गर्ने सम्झौता गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘भैरे’ हो । यस वर्ष उनको ’साइँली’ र ‘जात्रै जात्रा’ प्रदर्शन हुँदैछ ।

पोष्टरमा दयारानी

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’को पोष्टर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको पोष्टरमा दयाहाङ र दीया गाउँले भूमिकामा देखिएका छन् । चलचित्रमा दयाहाङ र दीयासँगै कलाकार विजय बरालको मुख्य भूमिका छ ।

यो चलचित्र आउँदो वर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइयो । माओत्से गुरुङ निर्देशित यो चलचत्रि सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरबाट बनेको हो । गुरुङ समुदायमा दयालु युवतीलाई ‘दयारानी’ भनिने भएकाले चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । शैलेन्द्रध्वज कार्कीले यो चलचित्र खिचेका हुन् ।


Views: 89