25th June | 2019 | Tuesday | 6:14:04 AM

हृदय भरीमा पल र श्रद्धा

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७५ (७:२३ AM)

हृदय भरीमा पल र श्रद्धा

काठमाडौं । नयाँ चलचित्र ‘हृदय भरी’ निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै निर्माणको घोषणा गरिएको छ । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकार चिनाइयो । चलचित्रमा नायक पल शाह र नवनायिका श्रद्धा क्षत्रीको मुख्य भूमिका रहने जानकारी गराइयो । भारतको कोलकत्तामा बसोवास गर्दै आएकी श्रद्धा मोडल हुन् । उनको यो चलचित्र डेब्यु हुनेछ ।

कार्यक्रममा बोल्दै नायक पलले चलचित्र रोज्नुको कारण कथावस्तु मन परेको बताए । उनले चलचित्रले दर्शकलाई बाध्ने र आफ्नो चलचित्रमा अन्यभन्दा फरक भूमिका भएको बताए । ‘फिल्ममा मलाई चकलेटी ब्वाईकै रूपमा पाउनुहुनेछ तर अघिल्ला फिल्मभन्दा फरकरूपमा । मेरा लागि फिल्म संख्याभन्दा गुणस्तर सधँै आवश्यक रहृयो यसमा त्यही छ । फिल्मको टिम राम्रो छ, त्यसैले दर्शकले खोजेअनुसारको फिल्म दिने तयारीमा छौँ,’ पलले भने । यस्तै नवनायिका श्रद्धाले कोलकत्तामा मोडलिङ गर्दै आएता पनि नेपाली चलचित्रमा पहिलेदेखि काम गर्ने इच्छा रहेको बताइन् । साथै उनले चलचित्रले आफ्नो भूमिकालाई तानेको बताइन् । ‘मलाई पहिला त काष्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरा लागि राम्रो प्रवेश टाइम भएको आभास भएकाले फिल्ममार्फत् आउँदैछु,’ उनले भनिन् । 

चलचित्रका निर्देशक तथा लेखक सुरज सुब्बा नाल्बोले चलचित्रले अहिलेको समयको युवा पुस्ताको कथा बोल्ने बताए । ‘हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो, त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौ । ऊ, कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै माया गर्ने । पलसँग जोडी सुहाउने भएकाले उसलाई डेब्यु गराउन लागेका हाँै,’ सुरजले भने । 

चलचित्रमा पल र श्रद्धाको साथमा नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कँुवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बू, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमनश्रीलगायतको अभिनय रहनेछ । चलचित्र एन फिल्मस् एण्ड क्रियशन, शाह प्रोडक्सन प्रा.लि र दीपेन्द्र फिल्मस्को संयुक्त ब्यानरमा निकेश लिम्बू, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ विश्वास र रुचि विश्वास सहनिर्माताका रूपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्र घोषणा समारोहमा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाशसहित फिल्म युनिटले पोष्टर अनावरण गर्दै फिल्मको फष्ट लुक्स सार्वजनिक गरेका थिए । 

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरि लम्साल, दीपक शर्माको संगीत, कविराज गहतराज र प्रवीन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, विपिन मल्लको सम्पादन रहेको छ । 

चलचित्रमा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । चलचित्रको छायांकन फागुनको तेस्रो साताबाट सुरु हुने बताइएको छ । 


Views: 85