27th June | 2019 | Thursday | 4:50:55 AM

उपाध्यायका सात एल्बम विमोचन

हिमालय टाइम्स   POSTED ON : माघ ९, २०७५ (८:५१ AM)

उपाध्यायका सात एल्बम विमोचन

सिक्किम । नेपाली साहित्य परिषद् गान्तोकमा डा. डिआर उपाध्यायका सात एल्बम विमोचन गरिएको छ । साथै सोही कार्यक्रममा नेपालका आठजना स्रष्टा र सिक्किमका छजना सष्ट्रा सम्मानित भएका छन् । सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवं निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारको बाहुलीद्वारा सोमबार डिआर उपाध्यायको गीति सङ्गाला लोकार्पण गरिएको हो ।

किनार प्रकाशन, गान्तोकद्वारा आयोजित लोकार्पण एवं सम्मान कार्यक्रममा साहित्यकार केदार गुरुङ मुख्य अतिथि रहेका थिए भने साहित्यकार चुनिलाल घिमिरेले कार्यक्रमलाई अध्यक्षता गरेका थिए । सभाध्यक्ष चुनिलाल घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ शान्ति, सुरक्षा हुन्छ त्यहाँ गीत संगीत तथा कला फस्टाउने मौका पाउने बताए । कार्यक्रममा घिमिरले एकै साथ आफ्ना सातवटा गीति सँगालो लोकार्पण गर्ने गीतकार डिआरलाई बधाई दिँदै एकै साथ सात गीति सँगालो निकाल्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै डिआरका गीतले सामाजिक परिवर्तनको आवाज बुलन्द गर्न चाहेको बताए ।

यसरी नै मुख्य अतिथि केदार गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य, कला संगीत जीवनको अभिन्न अंग रहेको बताए । उनले गीतकार डिआरका सिर्जनाले समाजमा सकारात्मक परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै जीवन जीउन कलाको आवश्यकता पर्ने बताए ।

कवि एवं चित्रकार दीपा राईद्वारा कार्यक्रममा आयोजक समिति अध्यक्ष टबी चन्द्र सुब्बाले स्वागत सम्बोधन गरेका थिए भने डा. शन्ति क्षेत्रीले सम्बोधन गरेकी थिइन । उनले संगीतको विशेषता एवंमहत्वमाथि बोल्दै आफ्नो जीवन साथी पनि उनले गीतकैमार्फत् भेटिएको खुलासा गरिन् ।

कार्यक्रममा नेपालका स्रष्टा डा.डिआर उपाध्याय, सुरेश घिमिरे ‘निश्चिन्त’, कृष्ण भुसाल, नवीन सुब्बा, सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, गीता अधिकारी र सुनिता खनाल तथा सिक्किमका स्रष्टा प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ ‘लोहोरो’ रनिलम न्यौपानेलाई सम्मान गरिएको थियो । यसरी नेपालबाट साहित्यकार टिबीचन्द्र सुब्बा, सिपी गिरी, चुनिलाल घिमिरे, डिआर नेपाल र सिबी कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो ।


Views: 98