25th April | 2019 | Thursday | 8:21:13 AM

‘हामी सबै गोपी हौं’

हिमालय टाइम्स   POSTED ON : माघ १६, २०७५ (७:४० AM)

‘हामी सबै गोपी हौं’

काठमाडौं  । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोपी’ को सोमबार विशेष शो गरिएको छ । केही राजनीतिक व्यक्तिहरू, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरू, व्यापारीसँगै विभिन्न कलाकारलाई चलचित्र देखाइएको थियो । 

सोमबार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ‘गोपी’को कथा समेटिएको छ । चलचित्र हेरेर निस्किएका धेरैजसोले आफूहरू पनि गोपी भएको बताएका थिए । चलचित्र हेर्न थुप्रै हाँस्य कलाकार पुगेका थिए । विशेषगरी लामो समयदेखि हाँस्यप्रधान चलचित्रमा काम गर्दै आएका चलचित्र, निर्देशक तथा निर्माताले पनि चलचित्र गोपी मनपरेको प्रतिक्रिया दिएका थिए । 

चलचित्र हेर्न ‘छक्का पञ्जा’ टिम पनि पुुगेको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले भने किसानले गौरव गर्न लायक चलचित्र बनेको बताए । ‘हामी सबैको जिउमा त्यही चलचित्रमा देखाइएजस्तै गोबर गानाउँछ । हामी पनि त्यही पृष्टभुमीबाट आएका थियौं । होला फरक कर्ममा छौं, तर हामी सबै गोपी हौं’, दीपकराजले भने ।

कलाकार जितु नेपालले नेपाल सरकार कृषिमन्त्रालयले निर्माण गर्नुपर्ने स्तरको चलचित्र निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषिमन्त्रालय अन्तर्गत विशेष चलचित्र घोषणा गर्नुपर्ने बताए । संगीतकार अर्जुन पोखरेलले चलचित्र हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिँदै चलचित्रले बोकेको स्वरोजगार र नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेशले आफ्नो मन छोएको बताए । संगीत कर्ममा लागेको आफुले संगीत पालन गरेको र आफू संगीतको गोपी रहेको उनले बताए ।

चलचित्रका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले भने, ‘राजनीती गर्ने व्यक्तिहरूलाई समेत फिल्मले प्रेरित गर्छ । जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ’ । नेपाल कृषि प्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा रहेको बताएका थिए । सरकारी तवरबाट फिल्मका लागि केही गर्न सकिने धारणा उनको थियो ।

त्यस्तै पूर्व सञ्चारमन्त्री मोहन बस्नेत र नेत्री नविना लामाले पनि आर्थिक रूपमा सवल बन्न विदेश नै धाउनुपर्छ भन्ने सोच बोकेका युवाका लागि गोपी एउटा राम्रो संदेश बन्न सक्ने विश्वास उनीहरूले राखे । 


Views: 72

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)