19th September | 2019 | Thursday | 8:16:16 PM

‘बलिउडलाई जित्नुपर्छ’

हिमालय टाइम्स   POSTED ON : माघ २०, २०७५ (३:४३ PM)

‘बलिउडलाई जित्नुपर्छ’

काठमाडौं । नायक अनमोल केसी नेपालका युवास्टार हुन् । उनले अभिनय गरेका सबैचलचित्र सफल भएका छन् । चकलेटी अनुहार र दशकअघिका सुपरस्टार भुवन केसीका छोरा भएका कारण पनि उनलाई चलचित्रक्षेत्रमा चिनिन सहज भयो । अनमोल पछिल्लो केही वर्षयता वर्षमा एक चलचित्र दर्शकलाई दिइरहेका छन् । अनमोलको पछिल्लो चलचित्र ‘कृ’ हो, जसलाई पनि दर्शकले निकै मन पराएका थिए । 

आउँदो फागुन १७ गतेबाट अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’ प्रदर्शनमा आउँदैछ । विशेषगरी माया प्रेमका चलचित्रमा सफल देखिएका अनमोल यो चलचित्रमा एक फुटबल खेलाडीको रूपमा देखिएका छन् । शुक्रबार सार्वजनिक चलचित्रको ट्रेलरमा उनी फुटबल खेल्न निकै कस्सिएको देख्न सकिन्छ । लामो समयदेखि फुटबल खेलको प्रशिक्षण लिएर चलचित्रमा अभिनय गरेका अनमोलले आफू चलचित्रमा निकै मिहिनेतका साथ काम गर्ने र दर्शकलाई मन पराउने चलचित्र दिने बताउँछन् । 

साथै उनले नेपालमा बन्ने सबै चलचित्र नेपालीलाई मन पर्ने बताउँनुपर्नेमा पनि जोड दिए । ‘हामीले अब बलिउड र हलिउड चलचित्रलाई जित्नुपर्छ, अहिले पनि नेपालमा बाहिरी चलचित्र बढी हेरिन्छन्, चलचित्र निर्माणमा ध्यान दिनुपर्छ’, अनमोलले ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने । 

‘क्याप्टेन’को विषयमा बोल्दै अनमोलले फुटबल खेलाडी बन्न निकै दुःख गरेको सुनाए । उनले फुटबलर हरि खड्कासँग प्रशिक्षण लिएका थिए । ‘यदि हरि दाइले मलाई ट्रेनिङ नदिनुभएको भए, म यत्तिको हुनेथिएन, निकै दुःखका साथ राम्रो गर्ने कोसिस गरेको छु, पक्कै दर्शकलाई मनपर्नेछ’, अनमोलले भने । कार्यक्रममा चलचित्रका निर्माता भुवन केसीले ‘क्याप्टेन’ जतिसुकै सुपरहिट भए पनि ‘क्याप्टेन २’ बनाउने आँट गर्न नसक्ने बताए । ‘मैले यो चलचित्र सुपर डुपर हिट भए पनि क्याप्टेन २ बनाउन सक्दिनँ, किनकि मैले त्यति धेरै दुःख यो चलचत्रि बनाउँदा पाएको छु’, भुवनले भने । 

चलचित्रका निर्देशक दिवाकर भट्टराईले चलचित्रका सबै कलाकार, प्राविधिकहरूको साथले चलचित्र राम्रो बनेको बताए । कार्यक्रममा कलाकार दीपाश्री निरौला, जितु नेपाललगायतले चलचित्रलाई शुभकामना दिएका थिए ।


Views: 102