18th February | 2019 | Monday | 4:09:58 PM

बिक्यो भन्दैमा सर्वांग नबनाउनुस् : तुल्सी पराजुली

गोपिकृष्ण चापागाईं   POSTED ON : Monday, 04 February, 2019 (3:59:56 PM)

बिक्यो भन्दैमा सर्वांग नबनाउनुस् :  तुल्सी पराजुली

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आफ्नो १०औं स्थापना दिवसको अवसरमा नेपाली मौलिक गीतसंगीतको विगत, वर्तमान र भविष्य विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली लोकगीतको क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रियरूपमा लागेका र लोकगीतकै संस्थापकले पछिल्लो समयको लोकगीतको अवस्थाबारे बहस ग¥यो ।

कार्यक्रममा चारदशकभन्दा बढी समयदेखि लोकगीतको क्षेत्रमा लागिरहेका गायक कुमार बस्नेतदेखि पछिल्लो पुस्ताका गायक तथा सर्जक विमलराज क्षेत्री, एकनारायण भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले पछिल्लो समय लोकगीत भ्युजमुखी भएको बताए । युट्युबमा भ्युज कमाउन जस्ता पनि लोकगीत बजारमा आउन थालेको उनले बताए । 

‘अहिले त युट्युबमा भ्युज आउँछ भनेर सुन्नै नसकिने शब्दका लोकगीत बजारमा आएका छन्’, उनले भने, ‘मेरो अनुरोध छ बिक्यो भन्दैमा सर्वांग नबनाउनुस् ।’ पराजुलीले सरकारसँग सेन्सर बोर्ड र विकास बोर्डको माग गरेको जानकारी दिए । ‘हामीले सरकारलाई विकास बोर्ड र सेन्सर बोर्डको माग त गरेका छौं तर कहिले हुन्छ टुंगो छैन, हामी आफंैले सेन्सर गर्न त सक्छौं नि ¤ आफ्नो गीत आफंैले राम्रो बनाउनुपर्छ, आफंैबाट सुरु गरौं’, पराजुलीले थपे । साथै उनले विगत लामो समयदेखि सर्जकले रोयल्टी पाउनुपर्ने भन्नेमा लड्दै आएको बताए । ‘यदि रोयल्टी व्यवस्थापन भयो भने सर्जक व्यक्तिगत हेलिकप्टरमा हिँड्नसक्ने क्षमताका छन्’, पराजुलीले भने ।

यस्तै सर्जक एकनारायण भण्डारीले दशकअघिका लोकगीत र अहिलेका लोकगीतमा धेरै परिवर्तन आएको बताए । उनले लोकगीत भन्दैमा पुरानै शैलीका हुनैपर्छ भन्नेमा आफू नरहेको बताए तर लोकगीतको मर्म बिर्सिनु नहुने उनको भनाइ छ । ‘सुरुसुरुका लोकगीतजस्तो अहिले दर्शक श्रोतालाई मन नपर्न सक्छ, तर त्यसो भन्दैमा पूरै शैली फरक गरेर लोकगीतलाई बिगार्नु हँुँदैन, केही शैली परिवर्तन गर्ने तर मिठास तरिकाले गर्नुपर्छ’, भण्डारीले भने । उनले लोकगीतका सर्जकलाई एक वैज्ञानिकसरह मान्ने गरेको बताए । ‘हामीलाई विभिन्न नयाँ गीतसंगीतको सिर्जना गर्ने भएकाले पनि वैज्ञानिकसरह मान्ने गरेको पाइन्छ त्यसैले यतिठूलो सम्मानलाई सजर्कले जस्तो पायोत्यस्तै गीत बनाएर बिगार्ने नगरौं’, भण्डारीले थपे ।

अर्का लोकप्रिय गायक विमलराज क्षेत्रीले स्टेजमा राम्रा कलाकारलाई बोलाउन छाडेको भन्दै आफ्ना भोगाई सुनाए । ‘म कुनै पनि कार्यक्रममा जाँदा प्लेनको टिकट माग्दिन, मेरो रोजाइ गाडी नै हुन्छ,’ उनले भने । यस्तै उनले पछिल्लोसमय एकदिन बजारमा ल्याउनासाथ जोकोही कलाकार भएको भन्दै वास्तविक कलाकार को हुन् उनीहरू छुट्याउनुपर्ने भन्दै सञ्चारकर्मीलाई सुझाव दिए । 

‘अहिले त एक गीत गाउनेबित्तिकै चर्चित कलाकार मानिन्छन्, वास्तविक साधना गरेको कलाकार को छ त्यो तपाईहरूले छुट्याइदिनुभयो भने गीतसंगीतको क्षेत्रमा राम्रो सर्जक पछि पर्दैनन्’, सञ्चारकर्मीलाई सुनाउँदै क्षेत्रीले भने । ‘भिसाका लागि कि, पैसाका लागि अथवा कलाकारिताकै लागि आएका छन् भन्ने सञ्चारकर्मीले बुझ्नु जरुरी छ, एक गीत गाउने विदेशको भिसा लगाउने जाने गर्नेलाई सञ्चारमाध्यमले विचार पु¥याउनुपर्ने देख्छु’, उनले थपे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिका उपाध्यक्ष सर्जक रमेश बिजीले लोकगीत आमाजस्तो लाग्ने बताए । उनले लोकगीतलाई सधैं आमाको दर्जामा राख्ने बताए । ‘म सानो छँदा आमाले गुनगुनाएको लोकगीत सुन्दै ठूलो भएको हुँ, मलाई हाम्रो लोकगीत जहिले पनि आमाजस्तो लाग्छ, त्यसैले लोकगीत सिर्जना गर्दा धेरै कुरामा ध्यान दिन्छु’, बिजीले भने । 

यस्तै उनले दशकअघिका लोकगीत कै शैलीमा आजको युगका सर्जकले गीत बनाउँदा सर्जक बाच्न गाह्रो हुने बताए । ‘हामीले केही शैली परिवर्तन गर्नैपर्छ तर समाजमा पच्नैनसक्ने प्रवृत्तिका होइन, लोकगीतको मर्म त हुनुप¥यो नि’ उनले भने । वरिष्ठ लोकगायक कुमार बस्नेतले पछिल्लो समय नयाँ पुस्ताले लोकगीतमा विकृति फैलाएको भन्दै आफंैले आफूलाई सुधार्नुपर्ने बताए । 

कार्यक्रममा लोक गायक शिवनारायण जोशी, संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्की लगायतले आफ्नो भनाइ राखेका थिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आफ्नो १०औं स्थापना दिवसको अवसरमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने कोसिस गरेको तर विविध कारणले गर्न नसकेको भन्दै अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको संस्थाका सचिव तथा कार्यक्रम प्रस्तोता रामनाथ घिमिरेले जानकारी दिए । 

यस्तै संस्थाका अध्यक्ष हरि बल्लब नेपाल र उपाध्यक्ष चन्द्रमणि गौतमले सञ्चारमाध्यमले लोकगीतलाई पु¥याएको योगदान तथा रिपोर्टिङका अप्ठ्यारा विषयबारे जानकारी गराएका थिए ।


Views: 46