23rd August | 2019 | Friday | 3:49:24 PM

रोयल्टी संकलन समाजमा महेश चयन

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (१२:१८ PM)

रोयल्टी संकलन समाजमा महेश चयन

काठमाडौं । गीतकार तथा संगीतकारको छाता संगठन संगीत रोयल्टी संकलन समाज नेपालको ११औं महाधिवेशनबाट महेश खड्का अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
माघ २५ शनिबार सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रत्यायी बी पाण्डेयलाई ६८ मतको भारी अन्तरले पराजित गर्दै महेश विजयी भएका हुन् । प्रत्यायी बि पाण्डेयले जम्मा ४४ मत ल्याउँदा महेशले ११२ मत पाएका थिए ।
यस्तै सदस्य पदमा श्रीकृष्ण बम मल्ल, पिएन सापकोटा, शशी शर्मा मजगैया, सुमन बैरागी, चन्द्र शर्मा, शिरिष देवकोटा, विपीन किरण, सुवास रेग्मी, बिक्रम राई, अमृत खाती निर्वाचित भएका छन् ।
अध्यक्षमा विजयी भएका महेशले रोयल्टी संकलन र वितरणलाई प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । ‘रोयल्टी संकलनका सम्भावित नयाँ क्षेत्रलाई पहिचान गर्दै रोयल्टी संकलनको दायरा फराकिलो बनाउनेछौं, पुरानो कार्यसमतिले अगाडि बढाएका कामसँगै थप प्रभावकारी बनाउनु हाम्रो दायित्व हो’ उनले बताए । उनले यातायातबाट उठेको रोयल्टीलाई कसरी वैज्ञानिक मापदण्ड बनाएर वितरण गर्ने भन्नेबारे नयाँ कार्यसमितिको काँधमा आएको बताए । ०७४ साल चैत २१ गतेबाट रोयल्टी संकलन समाजले सार्वजनिक सवारीसाधानबाट रोयल्टी संलकन गर्दै आएको छ । १० महिनामा समाजले पौने २ करोड रुपैयाँ संकलन गरेको छ ।
रेडियो, टेलिभिजन, युट्युब भिवर्स, सिआरबिटी, पिआरविटी, पार्टी प्यालेस, डान्सबार लगायतबाट आएको तथ्यांकका आधारमा औसतमा कसको गीत कति बज्यो निर्धारण गर्ने तयारीमा समाज रहेको बताएका छन् । गीतसंगीत बजाएवापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १ हजार चार सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रुपैयाँ रोयल्टी तिर्दै आएका छन् ।


Views: 104