19th August | 2019 | Monday | 9:37:31 PM

फिल्मको बेलामा मात्र महोत्सव

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:४७ AM)

फिल्मको बेलामा मात्र महोत्सव

काठमाडौं । अहिले नेपाली चलचित्रक्षेत्रमा युवास्टार अनमोल केसीलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरू हानथाप नै गर्छन् । जति पैसा दिएर भए पनि अनमोललाई चलचित्रमा अभिनय गराउन कुनै निर्माता पछि हटेका हुँदैनन् । निर्माताहरूले धेरै दिएरै उनको पारिश्रमिक अहिले ५० लाखभन्दा बढी पुगिसकेको छ । एकपछि अर्को चलचित्र सफल हुँदै जानु यसको मुख्य कारण हो ।
अहिलेसम्म आधा दर्जन चलचित्रमा काम गरेका अनमोलको आगमी फागुन १७ गतेबाट नयाँ चलचित्र ‘क्याप्टेन’ रिलिज हुँदैछ । अभिनेता भुवन केसी निर्माता रहेको यो चलचित्र कसरी सफल बनाउन सकिन्छ भन्नेमा भुवनले कुनै कसुर बाँकी राखेका छैनन् । यो भन्दाअघिको अनमोलको ‘कृ’ चलचित्र जुनरूपले सोचेका थिए त्यो रूपमा सफल हुन नसक्दा भुवनका लागि ‘क्याप्टेन’ सफल बनाउनु टाउको दुखाईको विषय बनेको छ । त्यसमाथि अनमोल ‘क्याप्टेन’मा हालसम्मकै फरक भूमिकामा देखिएका छन् ।
कलेटी नायक फुटबल खेलाडीको रूपमा पहिलो पटक आउँदा दर्शकले कत्तिको स्वीकार्छन् भन्नेमा भुवन र अनमोल दुवैको मनमा डर छ । हुन त केही समयअघि सार्वजनिक चलचित्रको ट्रेलरको सकारात्मक प्रतिक्रियाले उक्त डर केही हदसम्म हटाए पनि चलचित्र प्रदर्शन नहुन्जेलसम्म डर पूर्णरूपमा हट्नेछैन ।
निर्माता भुवन र नायक अनमोल चलचित्र सफल बनाउन प्रमोशनलाई तीव्रता दिइरहेका छन् । केही समयअघि चलचित्रका सार्वजनिक ट्रेलर तथा गीत सार्वजनिकमा अनमोललाई फरक तरिकाले प्रस्तुत गर्दै आइएको थियो । जसले गर्दा सञ्चारमाध्याममा अनमोलका समाचार निकै बनेका थिए ।
अनमोल आइतबार नेपालगञ्जमा चलिरहेको ‘व्यापार एवं पर्यटक महोत्सव २०७५’ मा ‘क्याप्टेन’को प्रचार गर्न पुगे । २० हजार दर्शकका अगाडि उनले ‘क्याप्टेन’को भरपुर प्रचार गरे । आयोजकले केही दिनदेखि नै महोत्सवमा अनमोल आउने भन्दै प्रचार गरिरहेकाले दर्शकको बाक्लो उपस्थिति थियो । करिब १० मिनेट स्टेजमा बिताएका अनमोलले स्टेजबाटै दर्शकसँग ‘क्याप्टेन कहिले रिलिज हुन्छ ? फागुन १७ मा कुन चलचित्र आउँछ ? जस्ता प्रश्न गरेका थिए । स्टेजबाटै उनले दर्शकसँगको सेल्फीखिचेका थिए ।
स्टेजमा उनले ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत पनि गाएका थिए । यस्तै, उनले चलचित्र ‘कृ’मा समावेश ‘यति यति पानी’ बोलको गीतमा नृत्य गरेका थिए । महोत्सवमा अनमोललाई प्रहरीले उच्च सुरक्षा दिएको थियो ।
अनमोल चलचित्रको प्रचारबाहेक अन्य बेला मेलामहोत्सवमा हिँड्ने गर्दैनन् । उनी चर्को पारिश्रमिक दिए पनि कुनै महोत्सवमा जाँदैनन् । तर चलचित्रको प्रमोशनका लागि उनी महोत्सवमा पुगे । उनी चलचित्र प्रमोशनको बाध्यताले महोत्सवमा पुगेका हुन् । हजारौं दर्शकलाई एकैपटक चलचित्रबारे जानकारी दिन पाइने भएकाले महोत्सव रोजेको बुझ्न सकिन्छ ।
सुवास लामिछानेले डेस्टिनी क्रियशनसँग सहकार्य गरेर प्रदर्शन गर्न लागेको चलचित्र नेपालमा रिलिज भएलगत्तै जापानको टोकियोमा पनि मार्च १७ मा रिलिज हुने पक्का भएको छ । दीवाकर भट्टराईको लेखक तथा निर्देशक रहेको चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।


Views: 91

सम्बन्धित सामग्री:

पोखरामा जाइरा टिम

: भदौ १, २०७६ (१:५१ PM)