25th May | 2019 | Saturday | 8:36:36 PM

क्याप्टेनबारे अनमोल भन्छन्, : हालसम्मको रेकर्ड तोडिन्छ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७५ (७:३९ AM)

क्याप्टेनबारे अनमोल भन्छन्, : हालसम्मको रेकर्ड तोडिन्छ

काठमाडौं । युवास्टार अनमोल केसीले आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने आफू अभिनित चलचित्र ‘क्याप्टेन’ले आफ्नो यसअघिका सबै चलचित्रको रेकर्ड तोड्ने बताएका छन् । उनले चलचित्रको ट्रेलर तथा गीत सार्वजनिक भइसकेपछि दर्शकको चलचित्रप्रतिको इच्छा तथा प्रतिक्रियाका आधारमा चलचित्रको आम्दानी तथा अन्य धेरै रेकर्ड तोडिने बताएका हुन् । 

‘मैले अन्य चलचित्र त भन्दिनँ तर मैले काम गरेका अहिलेसम्मका अन्य चलचित्रको आधारमा क्याप्टेनले रेकर्ड तोड्छ’, अनमोलले हिमालय टाइम्ससँग भने । उनले क्याप्टेन कुनै निश्चित वर्गका दर्शकलाई नभई सबैले हेर्नैपर्ने चलचित्र भएको बताए । ‘यो भन्दा अघि कतिपय लभ स्टोरी चलचित्रमा युवावर्गलाई बढी लक्षित गरिन्थ्यो तर क्याप्टेन फुटबल खेलसँग सम्बन्धित छ त्यसैले हाम्रो देशसँग जोडिएको कुरा हो, सबैले हेर्नैपर्ने चलचित्र बनेको छ’, अनमोलले थपे । यस्तै उनले चलचित्र फुटबलको विषयमा बनेको रहेछ फुटबल खेलमा रुचि राख्ने दर्शकमात्र हलमा पुग्लान् कि भन्ने हाम्रो प्रश्नमा भन्छन्, ‘यो कुनै फुटबल खेलाडीको डकुमेन्ट्रि बनेको होइन, यसमा लभ, रोमान्स सबै हेर्न पाउनुहुनेछ त्यसैले सबै वर्गका दर्शक हलमा पुगेर हेर्न सक्नुहुनेछ ।’ अनमोलले क्याप्टेनका लागि हालसम्मका चलचित्रमा भन्दा धेरै दुःख गरेको सुनाए । ‘मैले हालसम्म फुटबल खेलेको थिएन, तीन महिना लगातार ट्रेनिङ लिएको छु, हुबहु फुटबल खेलाडी देखिन शारीरिक बनावटदेखि धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ त्यसैले मिहिनेत गरेको छु’, अनमोलले भने । 

अनमोलसँगै दिवाकर भट्टराई निर्देशित क्याप्टेनका निर्माता भुवन केसी हुन् । चलचित्रमा अनमोलसँगै नवनायिका प्रियंका ... उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । चलचित्रमा अनमोलको फुटबल प्रशिक्षकको रूपमा अभिनेता प्रशान्त ताम्रकार छन् । यस्तै चलचित्रमा भुवन केसी र निरुता सिंहको पनि विशेष भूमिका छ । केही दिनअघि भुवन, निरुता र अनमोलको नृत्य रहेको ‘कर्ली कर्ली कपाल’बोलको गीत सार्वजनिक भइसकेको छ ।


Views: 59