26th March | 2019 | Tuesday | 2:08:37 AM

गिनिज बुकमा हृयाट्रिक गर्दै दिनेश

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २९, २०७५ (६:१७ AM)

गिनिज बुकमा हृयाट्रिक गर्दै दिनेश

काठमाडौं । नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले गिनिज बुक अफ वल्र्ड रेकर्डमा हृयाट्रिक (तेस्रो पटक) गर्ने तयारीमा छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराई सकेका दिनेशले सोमबार नेपाल पार्कर एण्ड फ्री–रनिङ एसोसिएसनले आयोजना गरेको ‘हृयाट्रिक गिनिज बुक अफ वल्र्ड रेकर्ड एटेम्ट–२०१९’ नामक पत्रकार सम्मेलनमा ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन ३० सेकेण्ड’ विधामा तेस्रोपटक विश्व रेकर्डको (हृयाट्रिक) गर्न लागेका हुन् । 

उनले सम्मेलनमा ३० सेकेण्डमा ११ पटक पार्कर गरेरै भिडियो रेकर्ड गरेका छन् । अब उक्त भिडियो गिनिज बुकको कार्यालयमा पठाउने र दुई महिनाभित्रमा प्रमाणपत्र आउने दिनेश बताउँछन् । उक्त कार्यक्रममा नेकपाका नेता माधवकुमार नेपाल, त्यसैगरी हास्य कलाकार जितु नेपाललगायतको उपस्थिति थियो । प्रमुख अतिथि नेता नेपालले नेपाललाई विश्वसामु चिनाउन नेपालीहरूले आफूमा भएको प्रतिभा देखाइरहेको बताए । पार्कर दिनेशले तेस्रो पटकसम्म गिनिज बुकमा नाम लेखाउन लागेकोमा शुभकामना तथा बधाई दिए । शाहसिक नेपालीहरूको कुरा गर्दै गर्दा केही समयअघि १२५ घण्टा लगातार नाँचेर विश्व रेकर्ड राखेकी बन्दना नेपालको पनि विषय उठाएका थिए । 

‘हामी नेपालीहरू अरूभन्दा कुनै कुरामा पनि पछाडि रहनु हुँदैन, असम्भवलाई सम्भव बनाउने प्रतिभा जो–कोही नेपालीमा रहेको र यो कुरा नेपालीहरूले सावित गरेर देखाएका छन्’, माधव कुमारले भने । त्यस्तै हास्य कलाकार जितुले दिनेशले खेलजगतको माध्यमबाट देशको गौरव बढाएको भन्दै धन्यवाद दिए । 

खोटाङ स्थायी घर भएका दिनेश सुनार करिब १५ वर्षदेखि निरन्तर पार्कर खेलको विकासमा लागिरहेका छन् । करिब सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रूपमा कार्यरत उनी आफ्नो नशा–नशामा पार्कर रहेको बताउँछन् । सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदक पाइसकेका छन् । 

सन् २०१७ मा एक मिनेटको समय सीमाभित्र ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेण्डमा १६ पटक ‘ब्याक फ्लिप्स’ गरेर अर्काे रेकर्ड राख्न सफल भइसकेका छन् । गत जनवरीमा मात्र अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दे त्यहाँ पुगेका दिनेश विभिन्न देशका ८० प्रतियोगिमध्ये ८औं स्थानमा पुग्न सफल भएका थिए । 


Views: 162