27th May | 2019 | Monday | 5:39:23 AM

करिश्माको व्यस्तता

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ३०, २०७५ (६:५० AM)

करिश्माको व्यस्तता

काठमाडौं । करिश्मा ढकाल भर्खर १९ वर्षकी पुगिन् । चार वर्ष अघिमात्रै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी करिश्माले आजको दिनसम्म एक हजार बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । सुरुवातका केही महिना व्यस्तता कम भएपनि आफ्नो व्यस्तता बढ्न थालेको साढे तीन वर्ष पुगेको बताउँछिन् । 

‘दिनमा तीनवटासम्म म्युजिक भिडियोमा नृत्य गरेकी छु, विशेषगरी तीज पर्वको बेलामा अत्यधिक व्यस्त भइन्छ, यो सबै दर्शकको माया हो’, करिश्माले हिमालय टाइम्ससँग कुरा गर्दै भनिन् । उनी विशेषगरी लोक तथा दोहोरी गीतको म्युजिक भिडियोमा व्यस्त देखिन्छिन् । हजार म्युजिक भिडियोमा मोडलिङ गर्दा दुईदर्जन आधुनिक गीतको भिडियोमा अभिनय गर्ने मौका मिलेको करिश्मा बताउँछिन् । 

‘मलाई लोकगीतको भिडियोमा बढी दर्शकले मन पराएको कारणले होला, एकपछि अर्को अफर लोक गीतकै भिडियोमा आउँछ’, करिश्मा भन्छिन्, ‘बढी नाँच्ने गीतमै अफर आउँछन् ।’ हँसिली अनुहार र मिलेको ज्यान भएकाले करिश्मालाई दर्शकले एकपछि अर्को भिडियोमा हँसिलो भएको हेर्ने चाहना राखे । त्यसैले निर्माता तथा निर्देशक सकेसम्म उनलाई ‘स्याड गीत’मा अभिनय गराउँदैनन् । 

‘हामी कलाकारले यो गीत गर्छु, यो गर्दिन भन्नुभन्दा दर्शकले कस्तो रूपमा आफूलाई हेर्दै आउनु भएको छ त्यहीअनुसार निर्देशकहरूबाट अफर आउँछ’, करिश्माले भनिन् । गोरखा २ मुच्चोक स्थाथीघर भएकी करिश्मा पछिल्लो समय महिनामा बिस दिनभन्दा बढी सुटिङमै हुन्छिन् । घरको पूर्णरूपमा साथ भएकाले आफूलाई सफलता मिलेको बताउँछिन् । 

‘घरमा बाबा र ममी दुवैजनाले मेरो कामको सपोर्ट गर्नुहुन्छ, त्यसैले पनि आज यहाँसम्म छु, आफ्नो काममा घरपरिवारको साथ ठूलो हुनेरहेछ’, करिश्माले भनिन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरूमध्ये, ‘उही खोलीको पानी, सेल्फी–सेल्फी, झुमा, सालको पात हे माया, दारु सड्काउला’लगायत गीत दर्शकमाझ बढी चिनिएका गीत हुन् । 

उनले अभिनय गरेका गीत विशेषगरी सुदूरपश्चिम क्षेत्रमा लोकप्रिय भएको पाइन्छ । गत तीजपर्वमा मात्र करिश्माले ६० वटा म्युजिक भिडियोमा अभिनय गरिन् । विशेषगरी रुनेभन्दा नाच्ने तीज गीत बढी बन्ने हुँदा पनि धेरैको रोजाइमा करिश्मा परेकी थिइन् ।


Views: 91

सम्बन्धित सामग्री:

मोदीको बायोपिकलाई २ करोड

: जेठ १२, २०७६ (१:०३ PM)