25th May | 2019 | Saturday | 9:42:59 PM

फ्राइडे रिलिज : एकसाथ तीन नेपाली फिल्म

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:२४ AM)

फ्राइडे रिलिज : एकसाथ तीन नेपाली फिल्म

काठमाडौं । नेपाली चलचित्रको सानो बजारमा फेरि पनि एकसाथ तीन चलचित्र प्रदर्शनमा आएका छन् । आज (शुक्रबार) बाट ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । दुई साताअघि प्रदर्शनमा आएका दुई चलचित्र ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ अझै पनि हलमा लागिरेहका छन् । यस्तै बलिउडका चार चलचित्र र हलिउडको एक चलचित्रले अझै नेपाली हल छाड्न सकेका छैनन् । यसले गर्दा आजबाट प्रदर्शनमा आएका ती तीन चलचित्रलाई केही धक्का पुग्ने अवश्य देखिन्छ ।

कर्पोेरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ मुलुकका ७४ वटा चलचित्र हलमा एकसाथ प्रदर्शनमा आएको चलचित्रका वितरक मनोज राठी बताउँछन् । उनका अनुसार राजधानी बाहिरका ५२ वटा र काठमाडौंका २२ हलमा एकसाथ प्रदर्शन हुँदैछ । 

प्रस्तुतकर्ता रोशनी केसी दर्शकले आफ्नो चलचित्र मन पराउनेमा आशावादी देखिन्छिन् । ‘जानी नजानी’ वसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीसहितका कलाकारको मुख्य भूमिका छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो चलचित्रका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन् । 

सामिप्यराज तिमिल्सिनाले लेखेको यो चलचित्र सञ्जय लामाले छायांकन गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । सँगै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पुरानो बुलेट’ पनि युवादर्शकलाई केन्द्रित गरिएको छ । भीषण राईको डेब्यु निर्देशन रहेको यो चलचित्रमा नायक अनुपविक्रम शाही , नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य भूमिका छ । चलचित्रको पोष्टर र ट्रेलर सार्वजनिक भइसकेपछि निर्माण टिमले चलचित्र सफल हुने आशा लिएको छ । 

पछिल्लो क्रममा रिलिज हरेकजसो चलचित्रमा एकपछि अर्को गर्दै फरक अवतारमा प्रस्तुत हुँदै आएका अनुपले ‘पुरानो बुलेट’को प्रस्तुति हालसम्म गरेका सबैजसो चलचित्रभन्दा भिन्न रहेको बताउँछन् । 

गएको २३ फ्रेबुवरीमा हङकङमा वल्र्ड प्रिमियर भएसँगै चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा अनुप वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, शिव मुखिया, दिवज राईलगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्तालगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा देख्न पाइनेछ । 

सन्तोष राई यो चलचित्रका कार्यकारी निर्माता हुन् । यस्तै अशोककुमार राई (अशोक साम्पाङ), दीपेन्द्र लिम्बू, विरेन साम्बा र टीकाराम राई निर्माताको रूपमा छन् ।

यस्तै नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण भएको अर्को चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ पनि आजैबाट प्रदर्शनमा आएको छ । ठूलो बजेटमा बनेको यो चलचित्रलाई मल्टिप्लेक्स हलहरूले राम्रैस्थान दिइरहेका छन् । ‘चेन क्युएफएक्स सिनेमाज’ले सर्वाधिक २० शो उपलब्ध गराएको जानकारी प्राप्त भएको छ । 

‘चेन क्युएफएक्स’ले ठूला ब्यानरमा निर्माण भएका चलचित्र र दर्शकबीच प्रतिलक्षित चलचित्रलाई मात्र यो संख्यामा शो दिने गरेको छ । सँगै प्रदर्शन हुने अन्य दुई चलचित्रले भने न्यून शो पाएका छन् । ‘पुरानो बुलेट’ले क्युएफएक्समा मात्र पाँच शो पाएको छ भने अर्को चलचित्र ‘जानी नजानी’ले निकै कम २ शो पाएको छ । यसैबीच ‘द म्यान फ्रम काठमाडौं’ न्यून शो पाएका अन्य दुई चलचित्रबीच दर्शकमाझ थप प्रतिलक्षित बनेको छ । 

‘द म्यान फ्रम काठमाडौं’ क्युएफएक्स सिनेमाजका मालिक नकिम उद्दिनले निर्माण गरेका हुन् । उनले आफ्नै लगानीमा निर्माण गरेकाले पनि चलचित्रले उच्च शो पाएको अहिले सिने बजारमा सर्वत्र चर्चा छ । नकिम उद्दिनले यो चलचित्र नेपालपश्चात् विदेशमा प्रदर्शन गरिने बताएका छन् ।

पेमा धोन्डुप निर्देर्शित ‘द म्यान फ्रम काठमाडौं’ नेपालसँगै बलिउड, हलिउड र पाकिस्तानी कलाकारको अभिनय छ । चलचित्रमा कर्मा शाक्य, जोसे मानुइल र अभिनेत्री आना शर्मा चर्चित भारतीय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, परमिता आर एल राना, सुनिता ठाकुरलगायतको अभिनय छ । गत बुधबार बलिउड कलाकार गुल्सनले नेपाली दर्शक माझ चलचित्रका विषयमा जानकारी गराएका थिए । वसन्तपुरमा एक कार्यक्रम गरी चलचित्र टिमले चलचित्रको विषयमा उपस्थित दर्शकलाई बुझाएको थियो ।


Views: 54