24th July | 2019 | Wednesday | 2:35:19 PM

जात्रै जात्रा गीत : फिल्म चलाउन भरिभराउ कलाकार (भिडियो)

हिमालय टाइम्स   POSTED ON : चैत्र ४, २०७५ (६:०९ AM)

जात्रै जात्रा गीत : फिल्म चलाउन भरिभराउ कलाकार (भिडियो)

काठमाडौं । पछिल्लो समय चलचित्र हिट बनाउन गीत हिट बनाउनैपर्छ भन्ने चलन नेपाली चलचित्रमा खुवै देखिन्छ । एक गीत लोकलयको हुनैपर्छ भन्ने सिद्धान्त लगभग सबै निर्माता तथा निर्देशकले लागू गरिसकेका छन् । यद्धपि चलचित्रमा राखिएको गीत राम्रो भयो भने दर्शकले चलचित्रबारे थाहा त पाउँछन् तर चलचित्रको मेकिङमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

यसैबीच सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा चलचित्रमा अभिनय गरेका कलाकारभन्दा अतिथि भूमिकामा रहेका कलाकार बढी देखिन्छन् । अर्थात् गीतमा नृत्य गर्नमात्र अन्य कलाकारलाई राखिएको छ ।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द तथा कृष्ण भारद्घाजले संगीत दिएका छन् । चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतसँगै गीतका लागि मात्र नायक निश्चल बस्नेत, नायिका करिश्मा मानन्धर र सारा सिर्पालीलाई राखिएको छ । गीतमा एक विवाहको समारोहमा अतिथि कलाकार आएर नृत्य गरेको देखाइएको छ ।

कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँले चलचित्र चलाउनकै लागि अन्य कलाकारलाई गीतमा राखिएको खुलेरै भने । उनले चलचित्र सफल होस् भन्ने हेतुले नै गीतमा, चलचित्रमा काम गरेकाबाहेक अतिथि कलाकारलाई राखिएको प्रष्ट पारे । चलचित्रका निर्देशक प्रदीप भट्टराईले अतिथि कलाकारको रूपमा अफर स्वीकार गरेकोमा कलाकारलाई धन्यवाद दिए । यस्तै उनले दर्शकको मनमा बस्ने गीत बनाउने कोसिस गरेको बताए । 

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य उपस्थित थिए । उनले पछिल्लो समयका लोकप्रिय कलाकारहरूले अभिनय गरेको गीत हिट हुनेमा कुनै शंका नभएको बताए । साथै चलचित्रको गीतमा मात्र काम गरेकी नायिका करिश्माले अफर गरेपछि गीत सुन्दासाथ छाड्नै मन नलागेको बताइन् । यस्तै नायिका साराले पनि अग्रह कलाकारसँग कम्मर मर्काउन पाउँदाको खुशी शेयर गरिन् ।

भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको यो चलचित्रका सिंगे लामा र योगेश्वर पौडेल निर्माताको रूपमा छन् । यसअघि आउँदो वैशाखको २७ गतेबाट प्रदर्शनमा आउने भनिएको सो चलचित्र जेठ ३ गतेबाट प्रदर्शन हुनेछ । एकपटक चलचित्रको सम्पूर्ण काम नसकिएको कारण देखाउँदै प्रदर्शन मिति सारिसकेको यो चलचित्रले दोस्रो पटक प्रदर्शन मिति सारेको हो । 

चलचित्र निर्माण टिमले मिति सार्नुको कारण नखुलाए पनि वैशाखको उक्त मितिमा बलिउडको एक चलचित्र प्रदर्शनमा आउने भएकाले आफ्नो चलचित्रमा दर्शक नआउलान् भन्ने डरले सार्नुपरेको बुझिएको छ ।


Views: 106

सम्बन्धित सामग्री: