24th April | 2019 | Wednesday | 10:41:33 PM

फ्राइडे रिलिजः हलमा अनमोल र सलिनको फिल्म

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७५ (७:३८ AM)

फ्राइडे रिलिजः हलमा अनमोल र सलिनको फिल्म

हिमालय टाइम्स । आजबाट दुई प्रतिक्षित नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । युवास्टार अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ र स्टाइलिस्ट अभिनेताको रूपमा चिनिएका सलिनमान बनियाँ अभिनित ‘यात्राः अ म्युजिकल भ्लग’ एकसाथ देशभरका हलहरूमा प्रदर्शनमा आएका हुन् । नायक अनमोल पछिल्ला समयका सर्वाधिक रुचाइएको नायक हुन् भने सलिन पनि यसअघिको ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक हुन् ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’लाई यस वर्षकै प्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ । यसअघि ‘ए मेरो हजुर २’ निर्देशन गरेकी झरना थापाले अहिले तेस्रो सिरिजमा आफ्नै छोरी सुहाना थापालाई चलचित्रमा डेब्यु गराएकी छन् । चलचित्रमा अनमोलसँग सुहानाको जोडी बाँधिएको छ । चलचित्रको सार्वजनिक ट्रेलर र गीतहरूबाट सुहानाको कामको तारिफ गरिएको छ । 

बिहीबार साँझ राजधानीको कुमारी हलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पायो । साथै अनमोल र सुहानाको कामको सबैले तारिफ गरेका थिए । सुनिलकुमार थापाले निर्मार्ता रहेकोयो चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रूपा घिसिङलगायत कलाकारको पनि अभिनय छ ।

झरना थापा सो चलचित्रको निर्देशकसँगै निर्मात्री पनि हुन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रवीन सिंह र राहुल शाहको कोरियोग्राफी छ । हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दीर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् ।

यस्तै सँगै प्रदर्शनमा आएको ‘यात्राः अ म्युजिकल भ्लग’को सार्वजनिक ट्रेलर तथा अन्य प्रचार सामग्री दर्शकले मन पराएका छन् । सलिनमान बनियाँ, मलिका महत, रेअर राईलगायतको मुख्य भूमिका रहेको यो चलचित्र टिम दर्शकले मन पराउनेमा आशावादी देखिन्छ ।

चलचित्र टिमले धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि बिहीबार ५० हजार नगद सहयोगसमेत गरेको छ । चलचित्रका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउण्डेसनमा पुग्दै संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् । 

चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ । सुशील पोखरेल सो चलचित्रको निर्माता हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको संगीत छ । 

चलचित्रको बुकिङ खुला गरेसँगै मल्टिप्लेक्सअन्तर्गतको क्युएफएक्समा ‘ए मेरो हजुर ३’लाई ११ सो दिएको छ । त्यस्तै ‘यात्रा’ले भने क्युएफएक्समा ७ सो मात्र पाएको छ । त्यस्तै सँगै प्रदर्शनमा आएको हलिउड हरर चलचित्र ‘पेट सिमेट्री’लाई ५, ‘हेलबोई’लाई ६ र ‘डम्बो’लाई ४ सो दिएको छ ।


Views: 79

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)