23rd August | 2019 | Friday | 3:22:13 PM

सुस्त गतिमा दाल भात तरकारी ट्रेलर (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (१०:१४ AM)

सुस्त गतिमा दाल भात तरकारी ट्रेलर (ट्रेलरसहित)

काठमाडौं । चलचित्र हेर्न दर्शक हलसम्म आउँछन् कि आउँदैनन् भन्ने अनुमान ट्रेलर सार्वजनिक भइसकेपछि त्यसको लोकप्रियतामा भरपर्छ । सार्वजनिक हुनासाथ चर्चा हुनु र सकारात्मक प्रतिक्रिया आयो भने अवश्य पनि दर्शक हलसम्म आउने इच्छा जगाउँछन् तर कतिपय चलचित्रका ट्रेलर सार्वजनिक हुनुअघि सोचे अनुरूपको नहुँदा दर्शकमा नैराश्यता सिर्जना हुन्छ । 

यसैबीच यही २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’को तीन दिनअघि सार्वजनिक भएको ट्रेलरको गीत सुस्त छ । सुस्त गीत भन्नाले यहाँ लोकप्रियता र युट्युवको भ्युजलाई जनाइएको छ । यसअघि ‘शत्रुगते’ जस्तो सफल चलचित्र दिएको टिमले नै यो चलचित्र निर्माण गरेको हो । तर ‘शत्रुगते’ जसरी यो चलचित्रको ट्रेलरले ‘हाइप’ लिन सकेन । 

यो समाचार तयार पार्दासम्म साढे पाँच लाखपटक ट्रेलर हेरिएको छ । ‘स्टार कास्ट’ र ब्यानरको हिसाबमा चलचित्रका लागी यो भ्युज निकै कम हो । नेपाली चलचित्रक्षेत्रका चर्चित हस्ती मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै अभिनेत्री निरुता सिंह, किरण केसीलगायतको टिमले यो चलचित्रमा अभिनय गरेको छ । यस्तै अहिलेको युवापुस्ता माझ चर्चित नायक पुष्प खड्का र नायिका आँचल शर्माको पनि अभिनय छ ।

यसअर्थमा पनि दुई दिनमा एक मिलिएन (१० लाख) पनि भ्युज नजाँदा कतै दर्शकलई ट्रेलर मन नपरेको होकी भन्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरका लागि आएका प्रतिक्रिया हेर्नेहो भने अधिकांश सकारात्मक छन् तर केही प्रतिक्रिया भने चलचित्रको ट्रेलर सोचेअनुरूप नभएको भन्ने पनि आएका छन् । त्यस्ता प्रतिक्रिया हेर्दा चलचित्रको टिमबाट दर्शकले केही ठूलो अपेक्षा राखेको बुझ्न सकिन्छ ।

रविन्द्र कार्की नाम गरेका युट्युव प्रयोगककर्ताले लेख्छन्, ‘मैले अपेक्षा गरेको जति लागेन दाल भात तरकारी एउटै कुराको सम्वादले ट्रेलर सिद्देको पाए । त्यही पनि शुभकामना मह जोडिलाई ।’ यस्तै रूपेश हमाल नाम गरेका अर्का एकजनाले लेखेका छन् ‘टे«लर हेरेर फिल्मको मूल्यांकन गर्दा फिल्म झुर छ जस्तो छ ।

चलचित्रमा समावेश ‘भिजिट भिसा’ बोलको गीत यसअघि सार्वजनिक भइसकेको छ । उक्त गीतको चुलिएको लोकप्रियताका कारण चलचित्र निर्माण टिम भने थप आशावादी देखिएको छ । तर यसअघि पनि गीत निकै लोकप्रिय बनेता पनि चलचित्र सफल नभएका उदाहरण पनि धेरै छन् । ट्रेलरमा अमेरिकाको डिभी नपाउँदाको दुःख र पाएपछिको खुसीयाली देखाइएको छ । कलाकारहरू अमेरिका जान दौडधुप गरेको देखिन्छ । चलचित्रमा अभिनेता हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहको छोराको रूपमा नायक पुष्प खड्कालाई देखाइएको छ । 

चलचित्रमा पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, वसुन्धारा भुसाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिएकी छन् । 

महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् भने सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । 

चलचित्रमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायत कलाकारहरूको अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत निर्मातामा छन् ।


Views: 884