24th July | 2019 | Wednesday | 7:51:55 AM

वीर वीक्रम २ ट्रेलर : वर्षाको प्रेममा पल र नाजिर

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (७:०६ AM)

वीर वीक्रम २ ट्रेलर : वर्षाको प्रेममा पल र नाजिर

काठमाडौं । नायक पल शाह र नाजिर हुसेन नायिका वर्षा सिवाकोटीको प्रेममा रहेको देखाउँदै चलचित्र ‘वीर वीक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेम रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा कलाकार बुद्धि तामाङलाई यी तीनजनाको प्रेमको बीचमा आउने भिलेनको रूपमा देखाइएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्र निर्माण टिमसँगै मुख्य कलाकारहरूको उपस्थिति थियो । निर्देशक मिलन चाम्सले चलचित्रको ट्रेलर काटेका मिलन श्रेष्ठलाई विशेष धन्यवाद दिँदै सम्पूर्ण टिमका कारण ट्रेलर राम्रो बनेको दाबी गरे । चाम्सले चलचित्रको कथा राम्रो भएरमात्र चलचित्र राम्रो बन्न नसक्ने बताए । 

उनले चलचित्रका कलाकारहरूको पनि जीवन्त अभिनय चाहने बताउँछन् । ‘चलचित्रको कथा जति नै राम्रो भए पनि कलाकारहरूको जीवन्त अभिनय भएन भने चलचित्र राम्रो बन्न सक्दैन, मेरो यो चलचित्रमा कलाकारहरूको अभिनयबाट निकै खुशी छु’, निर्देशक चाम्सले भने ।

चलचित्रका नायक नाजिरले यस अघिजस्तै वीर वीक्रम २मा पनि आफ्नो कामलाई दर्शकले पराउनेमा आशावादी रहेको बताए । पलले ट्रेलरबारे बोल्दै दुई साथीले एक युवतीलाई मन पराउँदा अवस्य समस्या आउने बताए । ‘दुईजनाले एक युवतीलाई माया गर्छन् भने त्यहाँ पक्कै पनि द्वन्द्व, झगडाजस्ता समस्या आउँछन्, यो चलचित्रमा पनि यस्तै कुरासँग अन्य थुप्रै कुरा हेर्न पाउनुहुनेछ’, पलले भने । 

नायिका वर्षाले पनि चलचित्रका आफूले सक्ने राम्रो गरेको र बाँकी दर्शकको हातमा छाडिदिएको बताइन् । कलाकार देशभक्त खनालले फरक विषयवस्तुमा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले सतहबाट तीन हजार मिटरमाथि गएर सुटिङ गर्दाका क्षणहरू निकै रमाइला र अप्ठ्यारा रहेको भन्दै चलचित्रमा राम्रो दृश्य देख्न सकिने बताए । 

चलचित्रमा पल, वर्षा, नाजिर र बुद्धिसँगै देशभक्त खनाल, विनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, विनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसीलगायत कलाकारको अभिनय छ । चलचित्रमा नवराज उप्रेतीको छायांकन छ भने बनिष शाहले सम्पादन गरेका हुन् । चलचित्रको कथा लेखन प्रदीप भारद्वाजको छ ।


Views: 823