25th May | 2019 | Saturday | 2:35:30 AM

‘वीर विक्रम २’मा वर्षाको पहिरन भाइरल

  POSTED ON : बैशाख २९, २०७६ (१२:१७ PM)

‘वीर विक्रम २’मा वर्षाको पहिरन भाइरल

काठमाडौं । प्रसंग हो, यही जेठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वीर विक्रम २’ आक्रामक प्रचारप्रसार कार्यक्रम र त्यस कार्यक्रममा एक अभिनेत्रीले पहिरिएको पहिरणको । 

केही दिन पहला पोखरा र चितवन भव्य कन्सर्टको आयोजना गरेर काठमाडौं फर्केको निर्माण टिमले काठमाडौंको विभिन्न स्थानमा हजारौं दर्शकमाझ सिनेमाको प्रचार गरेको थियो । सोही प्रचारप्रसारका क्रममा अभिनेत्री वर्षा सिवाकोटीले लगाएको पहिरण भाइरल बनेको छ । 


पछिल्लो समय हेर्ने हो भने अभिनेत्री वर्षा पहिरनकै कारण चर्चामा आउने गरेकी छन् । उनलाई यो चर्चा मन परेर होला भिन्न कार्यक्रममा भिन्न–भिन्न पहिरनमा प्रस्तुत भइरहेकी छन् । वर्षा केही दिनअगाडि पहिरनका कारण ट्रोल बनेकी थिइन् । उनले जिन्स ज्याकेटको बटम तलमाथि गरेर लगाएकी थिइन । यो फोटो भाइरल भएको थियो । 

बिहिबार ‘वीर विक्रम २’को प्रचारप्रसारका लागि कन्सर्टमा पुगेकी वर्षाको सर्ट र पाइन्ट लगाउने तरिका निकै नोटिस भयो । ती तस्वीर वर्षाले फेसबुकमा पनि सेयर गरेकी छन् । उनले सर्ट अगाडिको पछाडि पारेर लगाएकी थिइन् भने पाइन्ट र जुत्ता दुई कलरको लगाइकी थिइन् । यी तस्वीर वर्षाले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनको फेशन देखेर दर्शक अचम्मित भएका छन् । 

सो कार्यक्रममा वर्षा सिवाकोटीसँगै सिनेमाका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, संगीतकार ताराप्रकाश लिम्बू र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । वर्षाले नाई न भन्नु ल २ बाट फिल्ममा डेब्यु गरेकी हुन् । उनले ‘पशुपति प्रसाद, गाँजा बाजा, लप्पन छप्पन, कारखाना, जय शम्भो, पुरानो बुलेट’लगायत फिल्ममा काम गरिसकेकी छन् । 

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जिता सिवाकोटी सहनिर्माताको रूपमा रहेकी छन् । ‘वीर विक्रम २’मा नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षीतिज सुवेदी, बाल कलाकार मनिष लिम्बू, कृजन गौतमलगायत कलाकारको अभिनय छ । सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।


सिनेमामा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बू र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन छ । ‘वीर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘वीर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाइ छ ।


Views: 111