19th September | 2019 | Thursday | 8:23:35 PM

‘गलबन्दी’लाई करोड भ्यु

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७६ (१०:३१ AM)

‘गलबन्दी’लाई करोड भ्यु

काठमाडौं । अहिले दर्शक तथा श्रोताले निकै मन पराएको लोक दोहोरी गीत ‘गलबन्दी’ले युट्युवमा करोड भ्यु पाएको छ । युट्युवमा अपलोड गरिएको १८ दिनमै यो गीतले करोड भ्यु पाएर नयाँ रेर्कड राखेको हो । यो गीत गायक तथा सर्जक प्रकाश सपुतले यसअघि सार्वजनिक गरेको लोकगीत ‘बोलमाया’को अगाडिको भाग हो । गाउँघरमा बसेर गरिने प्रत्यक्ष यस दोहोरी गीतमा बोल मायाकै टिम अर्थात् प्रकाश सपुत गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि छिन् । गीत गाउनमा प्रकाशलाई शान्तिश्रीले साथ दिएकी छन् । प्रकाश सपुतले निर्देशन गरेको गीतमा अञ्जली र प्रकाशको लोभलाग्दो अभिनय देखाइएको छ । संगीत संयोजन कृष्ण विक ‘भाञ्जा’को रहेको गीतमा सहनिर्देशन देवन्द्र बब्लुको छ ।

गायक प्रकाशले गाउँघरमै भइरहने कुरालाई गीतमा उतार्दा दर्शक तथा श्रोतालाई मन परेको बताउँछन् । ‘मैले यो गीतमा त्यस्तो नयाँ केही गरेको छैन । हामीले गाउँघरमा प्रत्यक्ष दोहोरी जसरी खेल्छौं त्यही कुरा भिडियोमा उतारेका हौं । सबैले मन पराइदिनुभयो, खुशी छौं’, प्रकाशले भने, ‘गीत बनाउँदा सहयोग गर्नुहुने सबैलाई सम्झन चाहन्छु ।’ यस गीतमा बीचबीचमा प्रयोग गरिएका सम्वादले पनि दर्शक तथा श्रोताको थप मन छोएको छ । सामाजिक सञ्जालमा गीतमा प्रयोग भएका सम्वाद प्रयोग गर्न थालिएको छ । नेपाली लोकपन र संस्कृति झल्किने गीत ल्याएर नेपाली लोकगीतलाई मर्न नदिएको भन्दै प्रकाशलाई बधाई दिनेहरू थुप्रै छन् ।


Views: 93