24th July | 2019 | Wednesday | 7:55:18 AM

जाइरामा खेलाडी नम्रता

हिमालय टाइम्स   POSTED ON : असार १, २०७६ (१२:१२ PM)

जाइरामा खेलाडी नम्रता

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार नम्रताको जन्मदिनको अवसर पारेर चलचत्रिको पोस्टर रिलिज गरिएको हो । शुक्रबारबाट ३३ वर्षमा प्रवेश गरेकी नम्रताको जन्मदिनमा चलचित्र टिमले केकसमेत काटेको थियो । 

नम्रताको जन्मदिनमा ‘जाइरा’का दुई पोस्टर पनि सार्वजनिक गरियो । पोस्टरमा मुख्यतः उनलाई नै प्रमुख स्थान दिइएको छ । चलचित्रको मूलकथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ । सार्वजनिक पोस्टरमा नम्रतालाई मिक्स मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ । ‘जाइरा’का निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि निर्माण सहकार्य गरेको छ ।

‘लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन्, ‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन वर्ष खर्चेको छ । उसको मिहिनेत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ त्यही सन्दर्भमा उनले आफूले हरेक चलचित्रमा निभाएको क्यारेक्टर आफूलाई चुनौतीपूर्ण लाग्ने पनि बताइन् । ‘जाइरा’ बाट आफूले लभर गर्लको छवि मेट्ने प्रयास गरेको पनि बताइन् । 

चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरू श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट् मगरको पनि मुख्य अभिनय छ । ‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डिओपी बाबु श्रेष्ठको रहेको छ । ‘जाइरा’को प्रमोसन व्यवस्थापक सुम्निमा देवान हुन् ।


Views: 92