19th October | 2019 | Saturday | 7:25:09 AM

किन फेरिए द भ्वाइसमा कोच ?

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७६ (११:२९ AM)

किन फेरिए द भ्वाइसमा कोच ?

काठमाडौं । गएको वर्षबाट नेपालमा पनि सुरु भएको विश्वकै चर्चित गायक रियालिटी सो द भ्वाइसको नेपाली सो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजन यही असारको पहिलो साताबाट टेलिभिजनमा प्रसारण हुने भएको छ । पहिलो सिजन कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो भने दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने बताइएको छ । 

आयोजक टिमले सोमबार होटल सांग्रिलामा पत्रकार सम्मेलन गर्दै प्रसारण मिति, कोचहरू र प्रायोजकहरू सार्वजनिक गरेको थियो । यसका साथै दोस्रो सिजनमा पहिलो सिजनका दुई कोचहरू पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा नहुने भएका छन् । उनीहरूको ठाउँमा दुई नयाँ कोच भित्रिएका छन् । 

भ्वाइस अफ नेपाल पहिलो सिजनका बाँकी दुई निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोस्रो सिजनमा पनि रहेका छन् । यसअघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् । यस्तै, रक गायिका अभया सुब्बालाई हटाएर उनको ठाउँमा पप गायिका आस्था राउतलाई कोचको रूपमा अनुबन्धित गरिएको छ । आस्था करिब एक दशकदेखि नेपाली संगीत क्षेत्रमा छिन् ।

भ्वाइस अफ नेपाल सिजन – २ को छायांकन सुरु हुनुभन्दा केही दिनअघि मात्र आयोजक पक्षले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरेर यसपटक दुईजना कोच परिवर्तन भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर गर्दै दुईजना कोच परिवर्तन गरिएको जानकारी दिइयो ।

आगामी साउनको पहिलो साताबाट भ्वाइस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुँदै छ भने शनिबार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुने बताइएको छ । झण्डै २३ हजार प्रतिभाहरूले डिजिटल अडिसनमा सहभागिता जनाएकोमा विभिन्न छनोट चरण पारगरी एक सयभन्दा बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनका लागि चुनिएको द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोच दीप श्रेष्ठले दोस्रो सिजनमा निकै राम्रा प्रतिभाहरू आएको बताएका छन् । ‘मलाई त अहिलेनै थाहा भइसकेको छैन तर टिमबाट बुझेअनुसार पहिलो सिजनमा भन्दा दोस्रो सिजनमा सहभागी हुन आउने प्रतिभाहरू अझ ट्यालेन्ट छन् ।’ दीपले भने । ‘दर्शकले पहिलो भन्दा दोस्रो सिजन अझ रमाइलो लाग्नेछ ।’ यस द भ्वाइस अफ नेपालको दोस्रो सिजनका लागि टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ भने सहप्रायोजक एनआइसी एसिया बैंक र आइएनजी ग्रुपले साथ दिएको छ ।


Views: 99