19th October | 2019 | Saturday | 7:50:45 AM

छविविरुद्ध शिल्पाको उजुरी

हिमालय टाइम्स   POSTED ON : असार २६, २०७६ (९:४९ AM)

छविविरुद्ध शिल्पाको उजुरी

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छन् । तीन वर्षअघि गुपचुप बिहे गरेको यो जोडी पछिल्लो समय खासै मिडियामा सँगै देखिएको थिएन । विवाह गरेपछि पनि तत्कालै विवाह सार्वजनिक नगरेका उनीहरूले गत वर्षमात्र विवाह गरेको स्वीकार गरेका थिए । शिल्पा र छवि केही वर्ष पहिलादेखि नै एकसाथ बस्दै आएका थिए । 

अभिनेत्री पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी हुन् । श्रीमान्बाट आफूले असुरक्षित महसुुस गरको भन्दै आइतबार छविविरुद्ध काठमाडांै परिसर टेकूमा उजुरी दिएकी हुन् । बुधबार छलफलका लागि परिसर टेकूले दुवैलाई बोलाएको थियो । बुझिएअनुसार छविले शिल्पालाई केही समयदेखि कुटपिट गर्दै आइरहेका छन् ।

छविले हिंसा गर्न थालेपछि शिल्पा केही समयदेखि आफन्तको घरमा बस्दै आएकी छन् । महिना अघिमात्र छविले शिल्पासँग बिहे गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारका अनुसार छविराजको कुटाइबाट अभिनेत्री पोखरेलको कानको जाली फुटेको छ । अभिनेत्री पोखरेल यतिबेला बोल्नै नसक्ने अवस्थामा पुगेकी छन् । छविले हिंसा गर्न थालेपछि शिल्पा केही समयदेखि दाजु पर्ने विकास रौनियारको घरमा आएकी छन् । 

निर्माता छविराजले नै म्युजिक भिडियो खेल्दै आएकी शिल्पालाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट चलचित्र क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको सेटमा उनीहरू नजिक हुन पुगेका थिए । हाल भने शिल्पाले छविसँग डिभोर्स मागेको बुझिएको छ । पछिल्लो समय शिल्पाले छविको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’ र ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन् ।


Views: 109