25th August | 2019 | Sunday | 6:38:18 PM

विपिनको नयाँ चलचित्र सेल्फी किङ

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७६ (९:३२ AM)

विपिनको नयाँ चलचित्र सेल्फी किङ

काठमाडौं । अहिलेका नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र निर्माण गर्न निर्माताहरू हानाथाप नै गर्छन् । लगातार उनले काम गरेका चलचित्रले सफलता हासिल गरेको र अभिनयमा अब्बल देखिएका विपिनलाई लिएर चलचित्र बनाउन पाउनु निर्माताहरू आफूलाई भाग्यमानी नै ठान्छन् । उनको पारिश्रमिक पनि हृवात्तै बढेको छ ।

विपिनले काम गर्दा चलचित्रको स्क्रिप्टलाई निकै ध्यान दिने गर्छन् । उनलाई पछिल्लो समय नेपाल चलचित्र विकास बोर्डले प्रदान गरेको राष्ट्रिय चलचित्र अवार्डमा पनि उत्कृष्ट अभिनेताको अवार्ड पाउन सफल भएका थिए । उनीसँग अभिनेत्रीहरू काम गर्न लालाहित हुन्छन् ।

विपिन अभिनित गत वर्षको सफल चलचित्र ‘प्रसाद’कै टिमसँग उनले फेरि काम गर्ने भएका छन् । अर्थात् निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने नयाँ चलचित्र ‘सेल्फी किङ’मा उनी अनुबन्ध भएका हुन् । अहिले यो चलचित्रको निर्देशन भने विशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’का निर्देशक अमरदीप सापकोटाका सहोदर भाइ हुन् । 

अमेरिकामा चलचित्र मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलोपटक फिचर चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनी तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर विविध कारणले यो निर्माण हुन सकेन । अब उनले ‘सेल्फी किङ’मा विपिनलाई एक्सन–कट गर्नेछन् । यो चलचित्र आउँदो भदौ १० गतेबाट छायांकन सुरु हुनेछ ।

चलचित्रका लागि हालसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो भने भइसकेको छैन । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म ‘बुलबुल’मा सँगै काम गरेका थिए । 

चलचित्रको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यस वर्षको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई चलचित्र उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । 


Views: 70

सम्बन्धित सामग्री: