25th August | 2019 | Sunday | 6:38:33 PM

धुर्मुस–सुन्तलीको सेन्टी भाइरस

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७६ (८:३२ AM)

धुर्मुस–सुन्तलीको सेन्टी भाइरस

काठमाडांै । विगत पाँच वर्षदेखि कलाकारितालाई रोकेरै सामाजिक सेवामा लागिरहेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फेरि पनि कलाकारितामै फर्किएका छन् । लामो समयदेखि चलचित्र निर्माण गर्ने भनिरहेको यो यो जोडीले अन्ततः बुधबार औपचारिक घोषणा गरेको छ । 

नाम नजुरेकै कारण चलचित्र निर्माणको घोषणा गर्न नसकेका धुर्मुस–सन्तलीले अन्ततः ‘सेन्टी भाइरस’ नामलाई नै अंगालेका छन् । सुरुवातमा उनीहरूले ‘एन्टी भाइरस’ बनाउने हल्ला थियो साथै पछिल्लो समय अन्य केही नाम बाहिर आएका थिए तर अब औपचारिक रूपमै ‘सेन्टी भाइरस’को घोषणा गरिएको हो । 

यो चलचित्रमा धुर्मुस–सुन्तली मुख्य पात्रको रूपमा रहनेछन् । यसअघि धुर्मुस–सुन्तली नै यो चलचित्रको निर्माता हुने भन्ने हल्ला थियो तर उनीहरू यो चलचित्रको प्रस्तुतकर्ता र कलाकारको रूपमा मात्र रहेको बताए । कार्यक्रममा बोल्दै धुर्मुसले यसअघि विभिन्न नाम मिडियामा आए पनि अब ‘सेन्टी भाइरस’लाई लक गरिएको बताए । 

‘०७२ सालदेखि पूर्णरूपमा सामाजिक सेवामा थियौं । धेरैको गुनासो थियो कलाकारतामा कहिले फर्किनु हुन्छ ? यो कुरालाई मनन् गर्दै चलचित्र निर्माण गर्ने घोषणा गरेका हौं’, धुर्मुसले कार्यक्रममा भने, ‘चलचित्र पूर्ण मनोरञ्जनात्मक हुनेछ । मनोरन्जनको भाइरस हो सेन्टी भाइरस ।’ धुर्मुसले चलचित्र निर्माणको कामसँगै सामाजिक कामलाई पनि निरन्तरता दिने बताए । 

उनले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने बताए । यस्तै चलचित्रले मुनाफा कमाएको अवस्थामा १५ प्रतिशत मुनाफा उक्त रंगशालाका लागि प्रदान गर्नेसमेत घोषणा गरे ।

यसै कार्यक्रममा कलाकार सुन्तलीले पनि राम्रो टिमसँग काम गर्न लाग्दा खुशी लागेको बताइन् । ‘चलचित्र निर्माणको क्रममा टिम बलियो भएन भने त्यो चलचित्र राम्रो बन्न सक्दैन । त्यसैले टिम बलियो छ खुशी छौं । विशेषगरी नेपाली चलचित्र क्षेत्रका निकै राम्रो निर्देशक रामबाबुलाई पाएका छौं त्यो नै यो चलचित्रका लागि खुशीको कुरा हो’, सुन्तलीले भन्छिन्, ‘अब हामीभित्र भएको कला कसरी बाहिर निकाल्नुहुन्छ त्यो रामबाबुको काम हो । हामीमा के छ भन्नेकुरा हामीमा भन्दा निर्देशकमा ज्यादा ज्ञान हुन्छ ।’ 

यो चलचित्रका लागि धुर्मुस–सुन्तलीनै मुख्य पात्रको रूपमा रहेका छन् । यस्तै उनीहरूसँग राजाराम पौडेल, दयाहाङ राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, कमलमणि नेपाल, वसन्त भट्ट, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय रहनेछ । 

चलचित्रका लेखक कुमार कट्टेलले कार्यक्रममा बोल्दै आफ्नो चलचित्र लेखनको हिसाबमा यो दोस्रो चलचित्र भएको बताए । उनले यसअघि भद्रगोल टिमले निर्माण गर्ने भनेको ‘फनफनी’ चलचित्रमा पनि कथा लेखेका थिए । तर ‘सेन्टी भाइरस’ उनका लागि घोषणा भएको पहिलो चलचित्र हो । 

चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र बनिसकेपछि मात्र धेरै बोल्ने भन्दै धुर्मुस–सुन्तलीको टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । उनले निर्देशन गरेको प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हो ।

चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन छ । चलचित्रमा डिन्डु लामा निर्माताको रूपमा छन् भने फूर्पा लामा सहनिर्माताको रूपमा छन् । निर्माता डिन्डु लामा अमेरिकामा बन्दै आएका छन् । उनी एक व्यावसायी हुन् ।


Views: 80

सम्बन्धित सामग्री: