15th September | 2019 | Sunday | 8:57:07 PM

चलचित्र विकास बोर्ड र पत्रकारको सम्बन्ध

गोपिकृष्ण चापागाईं   POSTED ON : भदौ २४, २०७६ (१०:१० AM)

चलचित्र विकास बोर्ड र पत्रकारको सम्बन्ध

काठमाडौं । चलचित्र विकास बोर्डमा पाँच महिनाअघि अध्यक्ष पदमा नियुक्त भएका केशव भट्टराई अहिले पूर्णतया नेपाली चलचित्रको विकासमा भन्दै योजना बनाएर दौडधुप गरिरहेका छन् । केही समयअघि मात्रै तीन वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार भट्टराईकै नेतृत्वमा सम्पन्न भयो । यस्तै अन्य थुप्रै रोकिएका कामलाई अगाडि बढाउन लागिपरेका छन् ।

केही दिनअघि पोखरामा चलचित्र पत्रकार संघले आयोजना गरेको तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’मा चलचित्र विकास बोर्डले पनि सहयोग गरेको थियो । यसैबीच कार्यशालाको अन्तिम दिन (भदौ २०) पुगेका भट्टराईसँग चलचित्र पत्रकारले केही समय अन्तक्र्रिया गरे । भट्टराईले चलचित्र पत्रकारबाट बोर्डले चाहेको सहयोग र बोर्डका आगामी लक्ष्यका विषयमा जानकारी दिएका थिए । 

विकास बोर्डले चलचित्र पत्रकारलाई कसरी हेरेको छ ?

विशेषगरी नेपाली चलचित्रकै रिपोर्टिङका लागि लागिरहनुभएका चलचित्र पत्रकार साथीहरूले जसरी चलचित्र उद्योगलाई बोकेर हिँड्नु पथ्र्यो त्यो भएको देख्दिन । यहाँ व्यक्तिवादी बढी भएको छ । आफूलाई मन परेको व्यक्ति विशेष पत्रकारिता भएको छ । आममानिसलाई चासो होस् या नहोस् मिडिया चलाउने हिसाबका सामग्री समाचारका रूपमा आइरहेका हुन्छन् । चलचित्र पत्रकारिताको आचारसंहितामा रहेर काम गरिदिनुहुन अनुरोध गर्छु । 

चलचित्र पत्रकारबाट विकास बोर्डका समाचार सम्प्रेषणमात्र चाहनुहुन्छ कि राम्रा नराम्रा पक्षको समीक्षा पनि ? 

चलचित्र पत्रकार मेरो मार्ग दर्शक बन्नुपर्छ । विकास बोर्डका कमिकमजोरी औल्याइदिनुपर्छ । हामी मिलेर चलचित्र क्षेत्रलाई राम्रो बनाउनु छ त्यसैले कमजोरीका प्रतिक्रियाहरू म स्वीकार्न तयार छु । म प्रतिक्रियासँग डराएर हिँड्ने मान्छे होइन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नहुन्छ ।

अहिले चलचित्र अवार्ड व्यक्तिले पनि गर्न थाल्दा विकृति आउन थालेको छ । त्यसमा विकास बोर्डले पनि सहयोग गरेको देखिन्छ, बोर्डले आर्थिक सहयोग दिने रोक्ने हो भने विकृति कम हुन्थ्यो कि ? 

म अध्यक्ष भएर आएपछि यो काम निकै कम गरेको छु । यदि कुनै मिडिया बोर्डको तर्फबाट विज्ञापन माग्न आउनुहुन्छ भने मलाई दिइएको अनुमति १० हजारमात्र हो । त्यो भन्दा धेरै दिने अधिकार मेरो हुँदैन । र अहिले यो पनि निकै कम गरेको छु । अब बोर्डबाट एक सुचना निकाल्दै छौं, आयोजना भइरहने अवार्ड, सेमिनार, गोष्ठीजस्ता कार्यक्रममा बोर्डले बजेट छुट्याउने छैन । र अर्को कुरा म आएपछि विकास बोर्डका कुनै पनि कर्मचारी विदेशी भ्रमणमा जानुभएको छैन । 

केही समयअघि चलचित्र बुलबुल विदेशको एक कार्यक्रममा जानुपर्ने भएकाले टिमबाट नायिका स्वस्तिमा खड्का र दुई प्रतिनिधिलाई पठाइएको थियो । त्यो भन्दा अन्य कोही कर्मचारी विदेशको भ्रमणका लागी भनेर पठाइएको छैन ।

पत्रकारले बोर्डका सूचना पाउन सजिलो माध्यम बोर्डको वेभसाइट हो तर लामो समयदेखि वेभसाइट अपडेट गरिएको छैन किन ? 

यो विषयमा छलफल भइसकेको छ । बोर्डमा कार्यरत ३० कर्मचारीमा राम्रोसँग अंग्रेजी बोल्नसक्ने कर्मचारी जम्मा एकजना मात्र हुनुहुँदो रहेछ । आइटीको टिमसँग छलफल भइसकेको छ । वेभसाइटमा सुचना अपडेटसँगै नेपालमा भएका सुटिङ योग्य स्थलहरूसम्म पुग्नसक्ने नक्सा, आवास क्षेत्रसम्म पुग्न लाग्ने समय, त्यस्तै सडकहरूको नक्सा राखिनेछ । जसबाट विदेशी चलचित्र निर्मातालाई सहजै उक्त ठाउँको बारेमा जानकारी होस् । यो काम अब छिट्टै हुनेछ । 

बोर्डको आगामी लक्ष्य

अध्यक्ष केशव भट्टराईसँग चलचित्र विकास बोर्डका आगामी लक्ष्यबारे केहीबेर छलफल गरियो । चलचित्र पत्रकार डब्बु क्षेत्रीले अध्यक्ष भट्टराईसँग बोर्डको आगामी योजनाका विषयमा अन्तक्र्रिया गरेका थिए ।

भट्टराईले आफूले अध्यक्ष पद सम्हालिसकेपछि धेरै योजना तय गरेको बताए । यसअघि बनाइएका र कार्यान्वयन हुन नसकेका विविध योजनासँगै केही योजना तय गरिएको भन्दै बुँदागत रूपमा प्रकाश पारे ।

सुटिङ डेस्टिनेशन नेपाल

सुटिङस्थल तथा म्युजीयम

५० वर्षपछि ऐन परिवर्तन

कलाकार कल्याणकारी कोष

अध्यक्ष भट्टराईले पहिलो योजनाअन्तर्गत ‘सुटिङ डेस्टिनेशन नेपाल’को योजना अगाडि बढाइएको बताए । नेपालमा विदेशी फिल्म सुटिङ सकेसम्म धेरै होस् र विदेशी चलचित्र निर्माता नेपालमा आकर्षित हुनेगरी विभिन्न विषयमा छलफल भइरहेको उनी बताउँछन् । ‘अहिले नेपालमा विदेशी फिल्म निकै कम मात्रामा छायांकन हुन्छन् । विदेशका ठूला व्यानरका फिल्म नेपालमा सुटिङ गर्न आकर्षित गर्न हामीले नेपालका छानेका र सम्भावित १ सय स्थानहरूको लिस्ट निकाल्दै छौं’, भट्टराईले भने, ‘त्यसले गर्दा विदेशी निर्मातालाई नेपालका सुटिङ योग्यस्थलका बारेमा सिधै जानकारी दिन सकिन्छ ।’ यस्तै उनले ‘लोकेशन डाइरेक्टर’सँगै लोकेसेन सर्च गर्ने पनि छुट्टै राखिने जानकारी दिए । 

यस्तै नेपालमा विदेशी तथा स्वदेशी चलचित्र सुटिङका लागि अहिलेसम्म सरकारको तर्फबाट कुनै राम्रो स्टुडियोको स्थापना भएको छैन । राम्रो स्टुडियो भयो भने विदेशी चलचित्र निर्माताहरू सहज हुने हिसाबमा नेपालमा आउने सक्छन् । बोर्डले यो कुरालाई मध्यनजर गर्दै नेपालका विभिन्न ८ देखि १० ठाउँमा चलचित्र सुटिङ स्टुडियोसँगै म्युजीयम पनि निर्माण गर्ने तयारीमा छ ।

विकास बोर्डले विसं २०२६ सालमा तयार पारिएको चलचित्र ऐनलाई ५० वर्षपछि परिवर्तन गर्न लागेको छ । साथै विधेयक पनि अगाडि बढिसकेको अध्यक्ष भट्टराईको भनाइ छ । ‘अहिले विदेशी चलचित्र निर्माताहरूले नेपालमा सुटिङ गर्नुप¥यो भने मन्त्रालयदेखि विभिन्न ठाउँमा जाने झन्झट व्यहोर्नुपर्छ । अगाडि बढाइएको ऐनले विकास बोर्डलाई सम्पूर्ण जिम्मा सम्हाल्नेगरी बनाइएको छ । यसले गर्दा विकास बोर्डमा आएपछि एकैपटकमा सुटिङको अनुमति लिन सक्नेछन्’, भट्टराईले भने ‘कतिपय संघसंस्था यो विधयक सञ्चारमन्त्रालयसम्म नपुगोस् भन्ने रणनीति खेलेको भन्ने सुनेको छु ।’ 

प्राथमिकतामा नेपालमा विदेशी फिल्म छायांकन 

हाललै संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७को सरकारको नीति तथा कार्यक्रममा चलचित्रसम्बन्धी एउटामात्र ‘नेपालमा विदेशी फिल्म छायांकन’ बुँदा समावेश गरियो । 

‘छायांकनमा नेपाल कार्यक्रम सञ्चालन गरी सिनेमा तथा छायांकनमा नेपाल आउने विदेशीले आवश्यक पर्ने सम्पूर्ण सेवा एकद्वार प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइनेछ । छायांकनका लागि विदेशीहरूको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ’, राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा उद्घोष गरेकी थिइन् ।

सरकारले यो आर्थिक वर्षमा विदेशी फिल्म छायांकन आकर्षण गर्न विभिन्न योजना तयार पार्दैछ । नेपालमा छायांकन भएका हलिउड र बलिउडका ठूला फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गरेका छन् । हलिउडका र बलिउडका सुपरस्टारहरू नेपालमा आएर फिल्म छायांकन गरेका छन् । 

चार वर्षअघि चर्चित सुपर हिरो ‘डक्टर स्ट्रेन्ज’ नेपालको न्यूरोड, पाटन, ठमेल, असन, स्वयम्भूलगायतका स्थानमा एक हप्ता छायांकन भएको थियो । हलिउडका लोकप्रिय अभिनेता बेनेडिक्स कम्बरब्याच आएका थिए । उनीसँगै ओस्कार विजेता फिल्म ‘टुवेल्स इयर्स अ स्लेभ’का अभिनेता चिउटेल इजिफोर पनि नेपाल आएका थिए । हलिउडको अर्को ठूलो फिल्म ‘एभरेष्ट’ पनि नेपालमै छायांकन भएको थियो ।

बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित ‘बेबी’मा पनि भक्तपुर दरबार क्षेत्रदेखि हायात होटलसम्मका दृश्य खिचिएको छ । यस्तै दक्षिण भारतीय फिल्म ‘दस गिने से पहिले’को छायांकन नेपालमा भएको छ । 

नेपालमा विदेशी फिल्म मेकरहरू आर्कषण किन हुन्छन् भन्नेमा सहज, प्राकृतिक सौन्दर्यता र हिमशिखर पर्छन् । साथै फिल्मका लागि एक ‘लाइन प्रोड्युसर’ नेपालकै राख्नुपर्ने प्रावधान छ । शुल्कको कुरामा नेपालमा विदेशी फिल्म अनुमतिका लागि विकास बोर्डलाई मात्र ५० रुपैयाँ तिरे पुग्छ भने सुटिङका क्रममा खिचिएका दृश्य सेन्सरको १५ हजार रुपैयाँ तिर्नुपर्छ । ऐन परिवर्तन गरी विकास बोर्डबाटै सम्पूर्ण काम हुने गरी नयाँ ऐन लागू गराउने तयारीमा छन् ।

Views: 91