15th September | 2019 | Sunday | 9:01:33 PM

‘नेपाली फिल्म पनि विदेशमा रिलिज हुनुपर्छ’

गोपिकृष्ण चापागाईं   POSTED ON : भदौ २५, २०७६ (९:५५ AM)

‘नेपाली फिल्म पनि विदेशमा रिलिज हुनुपर्छ’

काठमाडौं । नेपाली फिल्मलाई पनि विदेशका हलहरूमा रिलिज (प्रदर्शन) गर्नुपर्छ भन्ने माग नेपाली चलचित्र निर्माता तथा निर्देशकले पहिल्यैदेखि गर्दै आएका हुन् । तर विदेशी बजारमा नेपाली फिल्म पुग्न विदेशका दर्शकले बुझ्ने हुनुपर्छ अर्थात् ‘सब टाइटल’देखि मेकिङमा विशेष ध्यान दिनुपर्छ । 

बलिउड तथा हलिउडले सयौं करोड लगाएर निर्माण गरेका फिल्मसँगै एकदेखि दुई अथवा तीन करोडसम्ममा बनेका नेपाली फिल्मले प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन । नेपालमा पनि आफ्नो अर्गानिक फिल्मभन्दा विदेशी फिल्म नै बढी हेरिने तथ्यांक छ ।

यसो भन्दै गर्दा आउँदो शुक्रबार (भदौ २७) बाट नेपाली चलचित्र ‘पासवर्ड’ प्रदर्शनमा आउँदैछ । चलचित्रका निर्देशक सम्रात बस्नेतका अनुसार यो चलचित्र नेपाली चलचित्रक्षेत्रमै पहिलोपटक विदेशका सिनेमा हलहरूमा पनि प्रदर्शन हुँदैछ । 

विदेशी बजारमा पनि नेपाली चलचित्र प्रदर्शन हुनुको मुख्य कारण यसमा अभिनय गरेकी बलिउड नायिका सन्नी लियोन हुन् । अर्थात् विदेशका हलमा प्रदर्शन गर्न सहज भएका कारण सन्नीलाई लिन सकिन्छ । 

निर्देशक सम्राटका अनुसार नेपालसँगै विदेशका १२ देशमा एकसाथ ‘पासवर्ड’ प्रदर्शन हुँदैछ । ‘यो भन्दा अघि केही चलचित्र विदेशका हलहरूमा पनि प्रदर्शन भएका थिए होलान् तर यसपटक मेजर हलहरूमै पासवर्ड लाग्दैछ । जुन बलिउड र हलिउडका ठूलो फिल्म प्रदर्शन हुन्छन् तिनै हलमा पासवर्ड हेर्न पाइनेछ’, सम्राटले हिमालय टाइम्ससँग भने, ‘जहाँसम्म लाग्छ यो नै पहिलो नेपाली फिल्म होला, जुन विदेशका यति धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ ।’

के फिल्मको चर्चाकै लागि सन्नीलाई नेपाली फिल्ममा ल्याइएको हो ? यो प्रश्न गर्न नपाउँदै निर्देशक सम्राट भन्छन् ‘एक हिसाबले चर्चा तथा व्यावसाहिक हिसाबले सोचिन्छ त्यो पक्कै हो तर अर्को मेजर कुरा के हो भने नेपाली फिल्म सधैं नेपालमै बस्ने कि अन्तर्राष्ट्रियस्तरमा पुग्ने भन्ने कुरा हो । हाम्रो उद्देश्य नेपाली फिल्मलाई विदेशमा पु¥याउनु हो ।’ यो चलचित्र नेपाल प्रदर्शनको दुई सातापछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । 

मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, भारतलगायत देशमा प्रदर्शन हुने बताइएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ ।

सन्नी भारतबाट आज (बुधबार) साँझ नेपाल आउँदैछिन् । उनी बिहीबार ‘पासवर्ड’को प्रिमियर शोमा सहभागी हुनेछिन् । साथै सन्नी नेपालमा कति दिन रहने र कुन ठाउँमा घुम्ने भन्ने विषय तय नभएको निर्देशक सम्राट बताउँछन् ।

‘पासवर्ड’का मुख्य कलाकारमध्येका एक नायक अनुपविक्रम शाहीले पनि पासवर्ड टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । अन्य नेपाली फिल्मलाई पनि विदेशी बजारमा पु¥याउन पासवर्डले महŒवपुर्ण भूमिका खेल्नेमा विश्वास राखे । 

साथै उनले नेपाली फिल्मकै इतिहासमा महँगो फिल्ममा पासवर्ड रहेको अनुमान गरे । उनी भन्छन् ‘सायद नेपाली फिल्म मध्येकै महँगो फिल्म पासवर्ड हो । किनकि यसमा आर्थिक हिसाबमा निकै खर्च गरिएको छ ।’ तर अनुप र निर्देशक सम्राट दुवैले चलचित्रको लगानी बारे बोल्न चाहेनन् । ‘लगानी यति नै भन्न सक्दैनौं । फिल्म बनाउने क्रममा आनाकानी भएको छैन’, सम्राटले भने ।

सो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पु¥याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ । एक्सन–लभस्टोेरी फिल्ममा सन्नी, अनुपविक्रमसँगै विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजित सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् भने, कथा सीमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । 


Views: 64