20th February | 2020 | Thursday | 11:59:45 AM

मनकारी जोगिन्दर–छात्रालाई स्यानेटरी प्याड र शैक्षिक सामग्री वितरण

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७६ (४:११ PM)

मनकारी जोगिन्दर–छात्रालाई स्यानेटरी प्याड र शैक्षिक सामग्री वितरण

काठमाडौं । टेलिभिजनको पर्दामा जोगिन्दर पानवालको नामले परिचित हास्यकलाकार शिवशंकर रिजाल समाज सेवामा पनि सक्रिए देखिएका छन् । जोगिन्दरले गत मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका हुन् । 

बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् । ‘महिनाबारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाए तर उनीहरूले शिक्षित हुने अधिकार उनीहरूसँग छ’, रिजाल भन्छन् ‘एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले सकेको सहयोग गरेको हुँ ।’ उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन् । 

कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउण्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका थिए । साथै, उनले विद्यार्थीलाई ४० हजार रुपैयाँबराबरका कापीकलम वितरण गरे । ‘जहाँबाट मैले ज्ञान पाए र आज यो स्थानमा छु त्यो मन्दिरलाई सहयोग गर्न पाउँदा उत्साहित छु’, उनले भने । कक्षा ५सम्म उनले अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउण्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । रिजालले सो विद्यालयका विद्यार्थीलाई पनि कापीकलम प्रदान गरेका थिए । 

तीन लाखको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाखको कापीकलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका रिजालले स्थानित विद्यार्थी र शिक्षकबाट धन्यवाद पाए । आफ्नै स्कुलबाट पढेर राष्ट्रको गहन बनेर सहयोगीको रूपमा शिवशंकर रिजाललाई पाउँदा शिक्षक खुशी देखिन्थे । ‘हामी कहाँबाट शिक्षित भएर गएका विद्यार्थीले जब आफ्नो पहिचान बनाएर हामीलाई नै सहयोग गर्न आउँछन्, त्यो क्षण हाम्रो लागि गौरव र खुशीको क्षण हो’, प्रधानअध्यापक महतोले धन्यवाद दिए । रिजाल सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पिपरिभित्ता निवासी हुन् ।



Views: 87

सम्बन्धित सामग्री:

प्रमोदको धोकेबाज सार्वजनिक

: फाल्गुन ७, २०७६ (३:५९ PM)