19th October | 2019 | Saturday | 9:23:09 PM

फ्राइडे रिलिजः हलमा कबड्डीको तेस्रो सिरिज

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७६ (९:४७ AM)

फ्राइडे रिलिजः हलमा कबड्डीको तेस्रो सिरिज

काठमाडौं । यसबर्षको प्रतिक्षित चलचित्रको रूपमा हेरिएको सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । राष्ट्रिय चर्चित कलाकारहरूको अभिनय रहेको यो चलचित्रको यस अघिका दुई सिरिज नै हिट भएकाले पनि यस सिरिजलाई विशेष तरिकाले हेरिएको छ । दर्शकले पनि तेस्रो सिरिजबाट ठूलो आशा गरेका छन् ।

गएको जेठमा प्रदर्शन भएको ‘जात्रै जात्रा’ चलचित्रपछि हलमा दर्शक ओइरिने चलचित्र कुनै आउन सकेका थिएनन् । ‘कबड्डी कबड्डी कबड्डी’ बाट हलवालाहरूले पनि ठूलो अपेक्षा गरेका छन् । त्यसैले पनि क्युएफएक्स सिनेमानजले  काठमाडौंमा ३७ शो दिएको छ । यसअघिका चलचित्रहलको नजरमा यो अत्यधिक शो हो ।

यस्तै क्युएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ शो दिएको छ । चलचित्रको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्युएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कुल ६४ शो दिएको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री उपासनासिंह ठकुरी, अभिनेता कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ। चलचित्रमा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

यससँगै एक बलिउड चलचित्र ‘द जोया फ्याक्टर’ र एक हलिउड चलचित्र ‘¥याम्बो लास्ट ब्लड’ पनि नेपालमा प्रदर्शनमा आएका छन् । ‘द जोया फ्याक्टर’ लाई क्युएफएक्सले आजका लागि ११ शो दिएको छ ।


Views: 122